Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

दूरसञ्चारको विकास नै डिजिटल नेपालको मेरुदण्ड हो : उपप्रधानमन्त्री खड्का

दूरसञ्चारको विकास नै डिजिटल नेपालको मेरुदण्ड हो : उपप्रधानमन्त्री खड्का

काठमाडौं, ८ मंसिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताएका छन् ।

‘नेपालमा दूरसञ्चारको भविष्य र सम्भावना’ विषयकाे कार्यक्रममा आज उनले दूरसञ्चारको विकासले नेपालमा सहर र गाउँबीचको दूरी घटाएको बताए ।

उपप्रधानमन्त्री खड्काले दूरसञ्चार क्षेत्रको विकासका लागि सरकारले नीति तथा कार्यक्रममा नै स्पष्ट व्यवस्था गरेको पनि उल्लेख गरे ।

“दूरसञ्चार क्षेत्रको विकास डिजिटल नेपालको मेरुदण्ड हो । यसर्थ, यस क्षेत्रको विकासका लागि समुचित रणनीति, यथेष्ट पूर्वाधार विकास एवम् आवश्यक जनशक्तिको विकासका लागि लगानी आजको प्राथमिकता हो । यही प्राथमिकतालाई बुझेर नेपाल सरकारले आजका नीति तथा कार्यक्रमहरूमा, योजनाहरूमा दूरसञ्चार तथा अन्य प्राविधिक क्षेत्रको विकासमा विशेष जोड दिँदै आएको छ”, उपप्रधानमन्त्री खड्काले  भने ।

उपप्रधानमन्त्री खड्काले नेपालको कठिन एवम् दुर्गम भू–बनोटको अवस्थितिमा अन्य पूर्वाधारहरूको तुलनामा दूरसञ्चार बढी महत्त्वपूर्ण देखिने बताए ।

उनले दूरसञ्चार क्षेत्रमा द्रुतगतिले भइरहेको आधुनिक प्रविधिको विकास तथा यसको संरचनामा भइरहेको गतिशील परिवर्तनले यस क्षेत्रमा नयाँ अवसरहरू देखापर्दै आएका पनि उल्लेख गरे ।

दूरसञ्चार क्षेत्रको विकासका बारेमा अन्तर्राष्ट्रिय प्रयोग र अभ्यासलाई समेत अध्ययन गरी नेपालको परिप्रेक्ष्यमा यसको विस्तार र उपयोगलाई समग्र सामाजिक एवम् आर्थिक विकाससँगै जोडेर हेर्नुपर्ने बेला आएको पनि उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

उनले भने, “एक्काइसौँ शताब्दीको गतिशील परिदृश्यलाई नियाल्दा, राष्ट्रहरूको शक्ति र सामथ्र्यलाई आकार दिन दूरसञ्चारको भूमिका महत्त्वपूर्ण रहेको देखिन्छ । विविध संस्कृति र भूगोलले भरिपूर्ण नेपालको सन्दर्भमा दूरसञ्चारको विकास एउटा आमूल परिवर्तन साबित भएको छ । यसको विकासले नेपाली जनताको विकासप्रतिको उत्कट र तीव्र चाहनालाई समेत प्रतिबिम्बित गर्दछ ।”

नेपालमा दूरसञ्चार विकासको फाइदा विद्यार्थीमा पुगेको उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

यसले आर्थिक वृद्धि, सामाजिक विकास र समग्र प्रगतिका लागि नयाँ बाटो खोलेको पनि बताए ।

“शिक्षाको क्षेत्रमा दूरसञ्चारले सहरी र ग्रामीण विद्यार्थीहरूबीचको खाडललाई कम गर्दै भौगोलिक अवरोधहरू हटाई विश्वस्तरीय शिक्षामा पहुँच प्रदान गरिरहेको छ,” उनले भने, “टेलिमेडिसिनले स्वास्थ्य सेवामा क्रान्ति ल्याउनेछ र भौगोलिक रूपमा अलग्गिएकाहरूलाई गुणस्तरीय चिकित्सा सेवा प्रदान गर्ने अवस्था निर्माण भइरहेको छ । डिजिटल अर्थ व्यवस्था फस्टाउँदै छ, उद्यमीहरू र साना व्यवसायहरूलाई विश्वव्यापीस्तरमा समेत फस्टाउन सहयोग गर्नेछ, भन्ने हाम्रो विश्वास रहेको छ ।”

उपप्रधानमन्त्री खड्काले दूरसञ्चारले अवसरहरूसँगै चुनौतीहरू पनि ल्याएको बताए ।

उनले दूरसञ्चार सेवाको अवसरबाट कोही नागरिक पनि वञ्चित नहुनुपर्नेमा सरकार सचेत रहेको जानकारी दिए ।

दूरसञ्चारको विकासले नेपाली जनताको जीवनमा सकारात्मक प्रभाव पार्नेमा निहित हुनुपर्ने बताए ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x