सूर्योदय हेर्ने पर्यटक बढेपछि मानहुँकोटका होटल खचाखच

तनहुँ १० मंसिर । सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएकाछन् ।
सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ ।
असोजदेखि आन्तरिक पर्यटकको चाप बढेपछि होटल खचाखच भरिएको मानहुँकोटस्थित होटल भ्यू टावरका सञ्चालक प्रेम रावतले बताए ।
आफूहरुसँग रहेको सात वटा कोठा र दुई वटा त्रिपाल दुई तीन दिन पहिल्यै बुक भइरहेको उनले सुनाए।
“मानहुँकोटमा अहिले पर्यटकको चाप बढ्दा होटल पनि खचाखच भरिएको छ”, रावतले भने, “पर्यटकीय याममा दुई/तीन दिन पहिले नै होटल बुक हुने गर्दा हामीलाई पनि राहत मिलेको छ ।”
पर्यटकको चाप बढेपछि मानहुँकोटमा १० वटा होटल सञ्चालनमा आइसकेका छन् ।
धेरै पर्यटक मानुहुँकोट आउन भन्ने उद्देश्यले आफूले समूहमा आउनेलाई लक्षित गरी एक रात बास, दुई छाक खाना, नास्ता र चियासहित प्रतिव्यक्ति एक हजार एकसय कायम गरेको होटल मानहुँकोट एण्ड रिसोर्टका सञ्चालक पूर्ण श्रेष्ठले बताए ।
आफूहरुले दैनिक ५० जनासम्म राख्ने गरी होटल सञ्चालनमा ल्याएको अम्रेला होटल एण्ड रिसोर्ट सञ्चालक सुनिल सुनामले बताए । होटलमा दैनिक दुई÷तीन सय जनालाई सेवा दिइरहेको उनको भनाइ छ ।
मानहुँकोटको विकासका लागि आफूहरुले पर्खाल निर्माणलगायतको काम गरिरहेको व्यास नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल)ले बताए ।
समुद्री सतहबाट करिब एक हजार एक सय मिटरको उचाइमा रहेको मानहुँकोट तनहुँको दमौलीबाट करिब सात किलोमिटरको यात्रामा पुग्न सकिन्छ ।
जाडोको मौसममा अन्य दिन दुई/तीन सय जना र बिदाको दिन आठदेखि नौ सय जनासम्म मानहुँकोट पुग्ने गरेका छन् ।