त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ
काठमाडौं, २२ मंसिर । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन् । बिहीबार राति फ्लाइ दुबईको एफजेड ५४३ को उडानबाट काठमाडौं आएका चन्द्र घले र मीनबहादुर घले सुनसहित पक्राउ परेको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले बताए ।
बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको उक्त जहाजमा आएका चन्द्र घलेले कपडामा बेरेर छातीको दायाँबायाँ राखेर ल्याएको अवस्थामा उक्त सुन बरामद गरिएको ठकुरीले जानकारी दिए ।
दुबईबाट अवैध रूपमा सुन आउँदै छ भन्ने सूचना पाएपछि विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले घलेद्वयलाई आउँदा आउँदै पक्राउ गरेको थियो ।
पक्राउ परेका दुवैलाई प्रहरी प्रभाग कोटेश्वर पठाइएको छ भने थप अनुसन्धान भइरहेको छ ।