बीमा व्यवसाय बढ्दै, पोलेसी बिक्री घट्दै
काठमाडौं, २२ मंसिर । समग्र बीमा व्यवसाय साढे २ अर्बले बढेको छ । हाल संचालनमा रहेका जीवन तथा निर्जीवन २८ कम्पनीको व्यवसाय वृद्धि भएको हो । हाल १४ जीवन र १४ निर्जीवन बीमा कम्पनीहरु छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्म २८ वटा बीमा कम्पनीहरुको व्यवसाय २ अर्ब ७९ करोड ६५ लाख रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म बीमा कम्पनीहरुले जम्मा ५९ अर्ब ३७ करोड बढी बीमा शुल्क आर्जन गरेका थिए ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा कम्पनीहरुले ६२ अर्ब १६ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
अघिल्लो वर्षहरुमा उच्च अंकले वृद्धि हुने बीमा व्यवसाय पछिल्लो समय घट्दै गएको छ । विशेषगरी आर्थिक शिथिलताले गर्दा बिमा व्यवसायमा पनि प्रभाव पारेको बताइएको छ ।
कम्पनीहरुको बीमा शुल्क आर्जन बढेता पनि बीमालेख बिक्रीदर घटेको छ । गत वर्षको कात्तिक मसान्तसम्ममा जीवन तथा निर्जीवन गरी १ करोड ४८ लाख ६१ हजार ४४७ बीमालेख बिक्री भएको थियो । तर, चालु वर्षको सोही अवधिमा कम्पनीहरुले १ करोड ४६ लाख ३ हजार ४२१ मात्रै बीमालेख बिक्री गर्न सफल भएका छन् ।
प्राधिकरणका अनुसार समिक्षा अवधिमा जीवन बीमा व्यवसाय बढेको छ । तर, निर्जीवन बीमा भने घटेको छ । सो अवधिमा जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय ३ अर्ब ४२ करोड ४७ लाख रुपैयाँले बढाएका छन् ।
गत आवको कात्तिक मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनीहरुको बीमा शुल्क आर्जन ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । बीमा शुल्क आर्जन वृद्धि भएता पनि बीमालेख बिक्रीमा भने गिरावट देखिएको छ । गत वर्षको कात्तिकसम्ममा कम्पनीहरुले १ करोड ३९ लाख ४२ हजार ३०९ वटा जीवन बीमालेख बिक्री गरेका थिए । तर, चालु आवको सोही अवधिमा भने १ करोड ३७ लाख १४ हजार ५४७ वटा मात्रै बिक्री गरेका छन् ।
त्यसैगरी निर्जीवन बीमा कम्पनीहरुले चालु आवको चार महिनामा १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आवको कात्तिक मसान्तसम्ममा भने कम्पनीहरुले १३ अर्ब ३५ करोड ८५ लाख बढी बीमा शुल्क संकलन गरेका थिए । समिक्षा अवधिमा निर्जीवन बीमालेख बिक्री पनि घटेको छ । गत आवको पहिलो चार महिनामा ९ लाख १९ हजार १३९ वटा बीमालेख बिक्री गरेका थिए । चालु आवको सोही अवधिमा भने कम्पनीहरुले ८ लाख ८८ हजार ८७४ वटा मात्रै बीमालेख बिक्री गरेका छन् ।
अहिले आर्थतन्त्र चलायमान नहुँदा त्यसको प्रत्यक्ष प्रभाव बीमा व्यवसायमा पनि देखिएको छ । बीमा कम्पनीहरुले नयाँ नयाँ योजना ल्याउन नसक्दा पनि व्यवसायमा कमी आउन थालेको कतिपयको विश्लेषण छ ।