शेयर बजारमा तीन पटक सर्कित लाग्दा पनि यी दुई कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं, २५ मंसिर । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार तीन पटक सकारात्मक सर्किट लागेर बन्द भयो । पहिलो पटक ४ प्रतिशतले, दोस्रो पटक ५ प्रतिशत र तेस्रो पटक ६ प्रतिशतले बजार बढेर सकारात्मक सर्किट लागेको थियो । दिनभरमा ९ मिनेट मात्र कारोबार भएको बजार १११.२० अंकले बढ्यो ।
तर, दुई कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ । नेप्से उच्च अंकले बढ्दा पनि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका लघुवित्त संस्था लिमिटेडको शेयर मूल्य घटेको हो ।
उपकार लघुवित्तले गत वर्षको नाफाबाट लाभांश वितरण गर्न नसक्ने सूचना आइतबार मात्र आएकाले शेयर मूल्य घट्न पुगेको हो । उपकार लघुवित्तको गत बिहीबार बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण गर्न नसक्ने निर्णय गरेको थियो । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै कालिका लघुवित्त वित्तीय संस्थाको सेयर प्रतिकित्ता ५७९ रुपैयाँ ७० पैसा कायम भएको छ ।