मंसिर २८ देखि १८औँ हस्तकला प्रतियोगिता तथा २०औँ हस्तकला व्यापार मेला
काठमाडाैं, २६ मंसिर । आगामी मंसिर २८ देखि १८औँ हस्तकला प्रतियोगिता तथा २०औँ हस्तकला व्यापार मेला आयोजना हुने भएकाे छ ।
दरबारमार्गस्थित होटल डेल अन्नपूर्णमा आयोजना गर्न लागिएको व्यापार मेला तथा प्रतियोगितामा तीन प्याभिलियनसहित एक सय ३० कक्ष रहनेछन्। मेलामा एक लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
नेपाल हस्तकला महासङ्घले २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा वार्षिक रु १२ अर्ब मूल्य बराबरको हस्तकलाका सामान विदेश निर्यात हुने जानकारी दिइयो।
कार्यक्रममा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले राष्ट्रिय अर्थतन्त्रमा नेपाली हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले हस्तकलाको संरक्षण र संवद्र्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
अठारौँ हस्तकला प्रतियोगितामा परम्परागत विधातर्फ पौभा र समसामयिक विधातर्फ छ्वाली कलाको प्रतियोगिता गराइने छ । प्रतियोगितामा प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु ३० हजार र तृतीय पुरस्कार रु २० हजार राखिएको छ। सो अवसरमा ७० वर्ष नाघेका १० जना ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गरिनेछ।