प्रधानमन्त्रीकाे एक वर्षे कार्यकाल: उपलब्धि र घाेषणाहरू
काठमाडाैं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु प्रधानमन्त्री रहेकाे १ वर्षे कार्यकालमा मुलुककाे आर्थिक क्षेत्रमा गरेका उपलब्धि र घाेषणा सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सरकार गठन भएको एक वर्षको अवधिमा दुई खर्ब ९२ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको बताएका छन् ।
यस्तै उनले मिटरब्याजी र सहकारीका ठगहरू पनि राज्यको नियन्त्रणमा आइरहेको बताए र ‘वर्षौंदेखिको विकृति- बेथितिको चक्र भत्काउन सरकार प्रतिवद्ध रहेकाे बताए ।
प्रधानमन्त्री प्रचण्डले भुक्तानी सन्तुलन करिब १५० अर्बले सकारात्मक रहनु र विगत कयौं वर्षदेखि घाटामा रहेको चालु खाता समेत बचतमा रहनु सरकारको गन्न सकिने उपलब्धि भएको बताए ।
यस्तै बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा रहेको बताउँदै उनले याे उनले लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताए ।
यस्तै सरकारकाे एक वर्षमा पर्यटकको संख्या लगभग रेकर्डकै रूपमा बृद्धि भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले रकफरक क्षेत्रका पर्यटकका लागि सरकारले फरकफरक रणनीतिमा काम गरिरहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले अब २०८० को दशक तीब्र विकासको दशक हुने भन्दै नागरिकले महसुस गर्ने गरी विकास गरिने बताए ।
यस्ता छन् प्रधानमन्त्री प्रचण्डले अघि सारेका घाेषणाहरू:
१. प्रधानमन्त्री प्रचण्डले नीति, योजना र बजेट निर्माणको परिपाटी नै परिवर्तन गर्ने बताएका छन् । पूँजीगत खर्चका कारण देशको विकास प्रक्रिया नै प्रभावित भएको भन्दै उनले जनप्रतिनिधि र आम जनताको सुझावबाट बजेट निर्माण गर्ने प्रणालीको विकास गर्ने बताए
२. पूर्वाधार निर्माण समयमा सम्पन्न नहुँदा अर्थतन्त्रको लागत बढेको भन्दै प्रधानमन्त्रीले पूर्वाधारहरूको ब्यारेक मोडेलमा काम गर्ने बताए । ८० को दशकलाई तीव्र विकासको दशक बनाउने संकल्प गरिएको भन्दै उनले पूर्वाधारमा देशले नयाँ ढङ्गले फड्को मार्ने दाबी गरे ।
३. यस्तै प्रधानमन्त्री प्रचण्डले भारत, बंगलादेश र चीनसमेत हाम्रो विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा लागेको बताए ।
४. यस्तै प्रधानमन्त्रीले कार्यदक्षता कमजोर भएका राजदूतलाई फिर्ता बोलाउने बताए ।विभिन्न देशमा रहेको राजदूतको कार्यक्षता सरकारले मूल्यांकन गरिरहेको भन्दै उनले कमजोर परफरेमेन्स भएका राजदूतलाई फिर्ता बोलाउने तयारी भइरहेको बताए ।
५. यस्तै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवाका लागि ग्राउण्ड ह्याडलिङमा छुट दिइने भएकाे छ । यस अघि नै सरकारले भैरहवा विमानस्थलमा उडान गर्ने वायुसेवाहरूलाई ग्राउण्ड ह्याण्डलिङमा ५० प्रतिशत छुट भने दिँदै आएको छ । अब पोखारामा हुने उडानबाट पनि छूट दिन सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्रीकाे भनाइ छ ।
६. प्रधानमन्त्री प्रचण्डले खेल पर्यटनको विकास गर्न सरकार पूर्वाधार विकासमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।विश्वकपको तयारीमा कुनै कसर बाँकी नराख्ने भन्दै उनले कीर्तिपुर रंगशालालाई पिपिपी मोडलमा विस्तार गरिने र मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न थालिएको उनले जानकारी दिए । चितवनको गौतम बुद्ध क्रिकेट रंगशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाको रूपमा तीन तहकै सरकारको समन्वयमा बन्न थालेको उनले बताए ।
७. यस्तै प्रधानमन्त्रीले वैदेशिक रोजगारी सिस्टमलाई पूर्ण रुपमा अनलाइन बनाइ श्रम स्वीकृतिको कार्याललाई पनि सहजीकरण गर्ने बताएका छन् । राहदानी नवीकरण अनलाइनबाटै गर्ने प्रणाली विकास गरिने भएकाे छ भने राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन १५ मागदेखि जनशक्ति थप गरेर प्रक्रिया छोटो बनाइने भएको छ ।
८. यस्तै प्रधानमन्त्री प्रचण्डले सरकारको अबको लक्ष्य उत्पादन र रोजगारी वृद्धि रहेको बताएका छन् । उनले निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।