डडेलधुरामा १३२÷३३ केभी स्याउले सब स्टेसन संचालनमा
काठमाडौं,१३ असार । डडेलधुराको स्याउलेमा १३२÷३३ केभी सब स्टेसन मंगलबारबाट संचालनमा आएको छ । ७ नम्बर प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउन उक्त सव स्टेसन संचालनमा ल्याइएको हो ।
सब स्टेसन निर्माण सम्पन्न भएपछि ७ नम्बर प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा आयोजनाबाट उत्पादन हुने विद्युत त्यही मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार पनि तयार भएको छ । सब स्टेसन सञ्चालनमा आएपछि दार्चुला स्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउलेबाटै डडेलधुरा, दार्जुला, डोटी, वैतडी र अछाममा बितरण हुनेछ ।
नेपाल विद्युत प्राधिकरणले अहिले चमेलियाको विद्युत दार्चुलाको बलाँच स्थित १३१ किलोमिटर १३२ केभी प्रसारण लाइन मार्फत कैलालीको अत्तरिया पु¥याई ३३ केभी मार्फत ति जिल्लाहरुमा आपूर्ति गर्दै आएको थियो । अब चमेलियाको विद्युत स्याउले सब स्टेसनबाट ७ नम्बर प्रदेशका पहाडी जिल्लामा आपूर्ति हुने र लामो प्रसारण प्रणालीले गर्दा भइरहेको प्राविधिक चुहावटमा कमी आउने आयोजना प्रमुख रमेशप्रसाद पौडेलले बताए । उनले भने ‘यसबाट यी क्षेत्रको वितरण प्रणाली सुदृढ भई विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुनेछ ।’
प्राधिकरणले चमेलिया सञ्चालनमा आउनुभन्दा पहिले पनि अत्तरियाबाटै ३३ केभी प्रसारण लाइन मार्फत ७ नम्बर प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्ति गर्दै आएको थियो । अत्तरिया–डडेलधुरा–दिपायल ३३ केभी प्रसारण लाइन र डडेलधुरा र डोटीको दिपायलमा भएका ३३÷११ केभीका सव स्टेसन मार्फत विद्युतलाई ११ केभीमा परिणत गरी वितरण गर्दै आएको थियो ।
हाल प्राधिकरणले डडेलधुराबाट बैतडी हुँदै दार्चुला सम्म र डडेलधुराबाट दिपायल हुँदै अछाम सम्म विद्युत आपूर्ति गर्दै आएको छ । अब ती क्षेत्रमा चमेलियाको विद्युत स्याउले सब स्टेसन मार्फत आपूर्ति हुनेछ ।
३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा प्रसारण चुहावट बढी हुने र ‘भोल्टेज ड्रप’ हुने समस्या रहेको स्थानीहरुको गुनासो थियो । यी समस्याको समाधान गर्न चमेलिया–अत्तरिया १३२ केभी प्रसारण लाइन तल पर्ने स्याउलेमा सब स्टेसन पनि सञ्चालनमा ल्याइएको हो । सव स्टेसनको निर्माण आर्थिक वर्ष ०७२÷७३मा सुरु गरिएको थियो । सव स्टेसनमा १३२÷३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ३३÷११ केभीको एउटा वितरण ट्रान्सफर्मर राखिएको छ ।