Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

तेस्राे लगानी सम्मेलनका लागि उत्साहित सरकार, अन्याेलमा नीजि क्षेत्र (भिडियाेसहित)

तेस्राे लगानी सम्मेलनका लागि उत्साहित सरकार, अन्याेलमा नीजि क्षेत्र (भिडियाेसहित)

काठमाडाैं, २३ फागुन । सरकार आगामी बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनको तयारीमा जुटेको छ । अर्थमन्त्रालय लगानी बोर्ड लगायतका सरोकारवाला निकायहरु यतिबेला सम्मेलनको तयारीका लागि जोडदार रुपमा लगेका छन् ।

सरकारले हालसम्म ४०० भन्दा बढी विदेशी लगानीकर्तालाई निमन्त्रण गरीसकेको छ । लगानी सम्मेलनको तयारीका लागि विभिन्न पाँच समितिले फास्ट्रयाकमा सुधारका कामहरु अगाडी बढाएका छन् । तेस्रो लगानी सम्मेलनका लागि पर्यटन, जविद्युत, आइटी, कृषि, पूर्वाधार विकास जस्ता क्षेत्रमा लगानी बढ्ने सम्भावना देखिएको लगानी बोर्ड नेपालका सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले बताए ।

लगानी सम्मेलनमार्फत् मुलुकभित्रै उद्योग स्थापना गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ । १२ सय भन्दा बढी स्वदेशी तथा विदेशी लगानीकर्तालाई एकै ठाउँमा ल्याएर नेपालमा रहेको लगानीको अवसरलाई नजिकबाट चिनाउनु पनि सम्मेलनको उदेश्य रहेको उहाँको भनाइ छ ।

तर हाल मुलुकमा बजारको माग एकदमै न्युन भएकोले उत्साहजनक रुपमा नयाँ लगानी आउन सकिरहेको छैन । यस्तोमा सरकारका तर्फबाट गरिनुपर्ने कामहरु नभएको हुँदा नेपाल लामो समयसम्म आर्थिक वृद्धि न्युन भएकोे मुलुकका रुपमा रहने खतरा बढेको नीजि क्षेत्रको बुझाइ छ ।

उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले अहिलेको वातावरणमा अपेक्षित सुधार नगरी विदेशी लगानी सम्मेलन गर्दैमा लगानी आउँनेमा शंका व्यक्त गरे।

आन्तरिक अर्थतन्त्रमा देखिएका पछिल्ला समस्याले नेपालको समग्र क्षेत्रमा नै लगानी कमजोर भइरहेको छ । यस्तोमा एकातिर लगानीयोग्य वातावरण बनाउनु सरकारको चुनौति देखिएको छ भने अकोतिर सरकार र नीजि क्षेत्रबीच भएको अविश्वासको खाडल पुर्नुपर्ने आवस्यकता औंल्याइएको छ ।

लगानी सम्मेलन हुँदैमा मात्र लगानी नभित्रिने भन्दै नीजि क्षेत्रले लगानीकर्तामा ढुक्क भएर लगानी गर्ने वातावरण बनाउनुका साथै लगानी सुनिश्चितता हुनुपर्ने उद्योग परिसंघ नेपाललका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले बताए

यता लगानी सम्मेलमा सकारात्मक सन्देश दिन सरकारले ऐन संशोधन गर्न बनेको विधयक २०८० मार्फत ११ वटा ऐन एकसाथ संशोधन गर्ने तयारी थालेको छ । सम्मेलनमा सहजिकरण गर्न नीजि क्षेत्रले पनि सरकारलाई विभिन्न सुझावहरु दिँदै आएको छ ।

यस्तोमा सम्मेलनको मुखमा हाल नेपालको नीजि क्षेत्रमाथि भइरहेको धरपकडको अवस्थाले विश्वसामु नकारात्मक सन्देश जाने विदेशी लगानी सम्बन्धी जानकार रामकृष्ण खतिवडाको बुझाइ छ । उनले विदेशी लगानीकर्ताहरुले राम्रो प्रतिक्रिया नपाएको अवस्थामा लगानीकर्ता लगानी गर्न हिच्किचाउने हुँदा सरकारले नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताए ।

सरकारले यस यसअघि विसं २०७३ र २०७५ मा गरी दुई वटा लगानी सम्मेलन सम्पन्न गरिसकेको छ । लगानीको अभाव झेलिरहेको हाम्रो जस्तो मुलुककमा लगानी सम्मेलन आयोजना गरिनु आफैँमा स्वागतयोग्य बिषय हो तर, विगतमा निकै तामझामका साथ सम्पन्न भएका लगानी सम्मेलनहरूको उपलब्धि हेर्ने हो भने सन्तोषजनक देखिँदैन । खतिवडा भन्छन्, ‘खासगरी, लगानी सम्मेलनका क्रममा व्यक्त प्रतिबद्धतालाई लगानीका रूपमा स्वदेशमा भित्र्याउने काम निकै चुनौतीपूर्ण छ । यस्तोमा विगतमा देखिएका समस्याहरुको समिक्षा गरी अगाडी बढ्नुपर्ने देखिन्छ ।’

यता लगानी बोर्ड नेपालले लगानी सम्मेलनलाई कसरी प्रभावकारी बनाउने भनेर विभिन्न निकायसँग छलफलमा जुटेको छ । विगतका दुबै लगानी सम्मेलनका सिकाई र कमजोरीलाई केलाउँदै तेस्रो लगानी सम्मेलनलाई नतिजामुखी बनाउन सरकार प्रतिवद्ध रहेको बोर्डले जनाएको छ । यसपटक सरकारले तोकाका परियोजनाहरुमा लगानी भित्र्याउन सबै समितिले जिम्मेवारीपूर्वक सुधारका कामहरु गरीरहेकाले प्रतिवद्धता अनुसारको लगानी भित्रिनेमा बोर्ड विश्वस्त देखिन्छ ।

हाल पहिलो चरणमा लगानी सम्मेलनमा शोकेसका लागि १२५ भन्दा बढी परियोजनहरु प्राप्त भइसकेका छन् । जस केही सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण हुने परियोजना छन् भने केही पूर्ण निजी स्वामित्वमा लगानी हुने परियोजना छन् ।

यसअघि नेपालमा लगानीको प्रतिवद्धता आएपनि लामो कानूनी प्रक्रिया, अस्थिर नीति तथा लगानी सुरक्षको अभावमा प्रतिवद्धता अनुसार लगानी भित्रिन सकेको थिएन । यस पटक भने सरकार कानूनी झन्झट अन्त्य गर्दै लगानीमैत्री वातावारण निमार्णतर्फ केन्द्रित देखिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x