आठ महिनामा आयात र निर्यात दुवै घट्यो
काठमाडौं, २२ चैत । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु निर्यात ४ दशमलव ० प्रतिशतले कमी आई १०० अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९ दशमलव १ प्रतिशतले कमी आएको थियो ।
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ७ दशमलव ७ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः २७५ दशमलव ५ प्रतिशत र शून्य दशमलव ३ प्रतिशतले वृद्धि भएको जानकारी दिएको हो ।
वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैँची, ऊनी गलैँचा, ब्रान्स लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु आयात २ दशमलव ७ प्रतिशतले कमी आई १०३० अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९ दशमलव १ प्रतिशतले कमी आएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः २ दशमलव८ प्रतिशत र २२ दशमलव ९ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३ दशमलव ७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोसाक, सवारी साधन तथा स्पेयर पार्टपुर्जा, हवाई जहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
आर्थिक वर्ष २०८० दशमलव ८१ को आठ महिनामा कुल वस्तु व्यापार घाटा २ दशमलव ५ प्रतिशतले कमी आई ९२९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७ दशमलव ९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९ दशमलव ८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९ दशमलव ९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ९८ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८५ अर्ब १२ करोड रुपैयाँ बराबरको भएको थियो ।