तेस्रो लगानी सम्मेलनमार्फत दर्जन परियोजनामा सम्झौता
काठमाडौं, १८ वैशाख । दुई दिनसम्म काठमाडौंमा चलेको तेस्रो लगानी सम्मेलनमार्फत दर्जन परियोजनामा सम्झौता गरिएको छ।
१ सय ५४ परियोजना सोकेसमा राखिएपनि देखिनेगरी ठूलो लगानी प्रतिबद्धता भने आएका छैनन्। लगानीकर्तालाई विभिन्न छलफलमार्फत नेपालमा लगानी गर्न सकिने दर्जन क्षेत्रको विषयमा जानकारी भने गराइएको छ। ऊर्जा, कृषि, पर्यटन, पूर्वाधार तथा सूचना प्रविधिमा विशेष लगानी गर्न नेपालको तर्फबाट आह्वान गरिएको छ।
निजी क्षेत्रका केही परियोजनामा भने १५ अर्ब रुपैयाँभन्दा बढी लगानी आउने निश्चित गर्दै सम्झौता गरिएको छ।
तेस्रो लगानी सम्मेलनमा ६० देशका ८ सय भन्दाबढी विदेशी लगानीकर्ता सहभागी भएका छन्। विदेशी र स्वेदेशीसहित २५ सयभन्दा बढी सहभागी भएका थिए।
सम्मेलनमा १ सय ५४ मध्ये ईओआई भएका १९ वटा परियोजना र ९ वटा मार्केट साउन्डिङ सहितको परियोजना सोकेसमा राखिएको थियो। खासगरी ऊर्जा, आईसीटी, पर्यटन र पूर्वाधार जस्ता क्षेत्रहरूका परियोजना सोकेसमा राखिएको थियो।