नाडेप लघुवित्तको शेयर बाँडफाँड, चुक्ता पुँजी ११ करोड २० लाख पुग्यो
काठमाडौं, २० असार । नाडेप लघुवित्तको साधारण शेयर बुधबार बाँडफाँड भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेण्टमेन्ट एण्ड बैंकिङ्गका अनुसार कुल आवेदकमध्ये १९.७१ प्रतिशतले शेयर प्राप्त गरेका छन् भने बाँकी रहेका ८०.२९ प्रतिशत आवेदकले शेयर पाएनन् ।
सर्वसाधारणका लागि छुट्याइएको लघुवित्तको कुल ४ लाख ३२ हजार कित्ता आइपिओका लागि २ लाख १९ हजार ९१ जनाले आवेदन गरेका थिए । जसमध्ये ४७४ वटा आवेदन रद्ध भएको छ ।
सदर भएको २ लाख १८ हजार ६१७ आवेदकमध्ये गोलाप्रथाको माध्यमबाट ४३ हजार २०० आवेदकले १० कित्ता दरले शेयर पाएका छन् ।
सर्वसाधारणका लागि निष्काशन भएको ४ करोड ३२ लाख बराबरको चार लाख ३२ हजार कित्ता आईपिओमा ९९ करोड एक लाख १३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जुन निष्काशन भएको शेयर भन्दा २२.९२ गुणा बढी हो।
लघुवित्तले असार १० गतेदेखि कूल ४ करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो । यसमध्ये सर्वसाधारणका लागि ४ लाख ३२ हजार कित्ता बिक्री खुला गरिएको थियो भने २४ हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई र २४ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।
३० प्रतिशत आईपिओ जारी पछि लघुवित्तको चुक्ता पूँजी ११ करोड २० लाख रुपैयाबाट बढेर १६ करोड रुपैयाँ पुग्नेछ ।