Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

खाद्य सुरक्षा र हरियाली सहर

खाद्य सुरक्षा र हरियाली सहर

नेपालका सहरमा हरियाली विभिन्न रूपमा रहेको देख्न सकिन्छ । तथापि, हरियालीको मात्रा भने सहरको आकार, प्राकृतिक स्रोत, सहरवासीको जीवनशैली, सरकारको नीति–नियम आदिमा भर पर्दछ । नेपालमा धार्मिक तथा सांस्कृतिक स्थलमा रुखबिरुवा रोप्ने र संरक्षण गर्ने काम परापूर्वकालदेखि नै चल्दै आएको हो । भूबनोट, हावापानी र उपलब्ध प्रविधिअनुसार सहरमा हरियाली क्षेत्रको विकास गरिन्छ । सहरको खाद्य सुरक्षामा देखिएका चुनौती, सहरी क्षेत्रको बढ्दो तापक्रम, जलवायु परिवर्तन र कार्बन उत्सर्जनमा भइरहेको वृद्धि आदि कारणले हरियाली सहरको अवधारणाले विश्वको ध्यानाकर्षण गरिरहेको छ ।

सहरको खाद्य सुरक्षा अहिलेको जल्दोबल्दो विषय हो । सहरको दिगोपना, उत्थानशीलता र आत्मनिर्भरतालाई खाद्य सुरक्षासँग जोडेर हेरिन्छ । यसका लागि खाद्यपदार्थ पनि उत्पादन हुने र हरियाली पनि कायम हुने गरी सहरमा वनजंगल र हरियालीको विकास गर्ने प्रचलन विश्वभरि बढिरहेको छ । हरियाली सहरको मूल उद्देश्य सहरहरूमा हरियाली क्षेत्र विस्तार गरी सहरी वातावरण संरक्षण गर्नु हो । यसका अतिरिक्त उपयुक्त जातका फलफूल तथा तरकारी उत्पादन गरेर सहरी बासिन्दाको खाद्य परनिर्भरता कम गर्ने, सहरवासीका लागि वैकल्पिक आयस्रोतको व्यवस्था गर्ने, स्थानीय प्रकृतिका बोटबिरुवा रोप्न प्रोत्साहन गरी उपयुक्त रैथाने जातका वनस्पतिको संरक्षण र संवद्र्धन गर्नु उत्तिकै महत्वपूर्ण उद्देश्य हुन् ।

वर्तमान अवस्था

नेपालको कुल क्षेत्रफलको करिब ४५ प्रतिशत भूभाग वनजंगलले ढाकेकोे छ । यसको थोरै प्रतिशत मात्र सहरी क्षेत्रभित्र पर्दछ । तर, सो वनजंगलभित्र फलफूलका बोटबिरुवा नगन्य मात्रामा मात्र छन् । हाल गठन भएका २९३ नगरपालिकामध्ये अधिकांश नगरपालिका ग्रामीण चरित्रका छन् र यी नगरपालिकामा ठूलो भूभाग वन क्षेत्रले ओगटेको देखिन्छ । तर, खानयोग्य फलफूल वा तरकारीका बोटबिरुवा कमै छन् ।

हामीकहाँ पितृहरूको सम्झनामा वर, पीपललगायत अन्य रुख रोप्ने चलन छ । साथै, सरकारी र सार्वजनिक समारोहमा वृक्षरोपण गर्ने चलन पनि छ । तर, रोपिएका रुखबिरुवाको उचित हेरचाहको कमी भएको देखिन्छ । सहरी खुला क्षेत्रमा वृक्षरोपण गर्दा फलफूलको बोट रोप्ने चलन अझै चलिसकेको छैन । आफ्नो निजी प्रयोजनका लागि बारीमा फलफूलको बोट रोप्ने चलन भए पनि त्यो सीमित मात्रामा छ । पहाडी क्षेत्रमा भन्दा तराईको सहरी क्षेत्रमा फलफूलको बगैँचा केही मात्रामा बढी पाइन्छ । तर, हालसम्म पनि हरियालीसँगै खाद्यान्न उत्पादनमा पनि योगदान पु¥याउने उद्देश्यले संस्थागत तथा व्यापारिक रूपमा फलफूल तथा खाद्य प्रयोजनका लागि खेती गर्ने प्रचलन निकै कम छ । अहिले देशका पहाडी क्षेत्रमा बाँदर आतंक बढेका समाचार सुन्न पाइन्छ । स्थानीय पालिकाहरूले बाँदर नियन्त्रणका लागि बजेट तथा कार्यक्रम नै तयार गरेको देखिन्छ । यसको मुख्य कारण बाँदरहरूलाई जंगलमा उपयुक्त खानेकुराको अभावले गर्दा उनीहरू मानव बस्तीतिर खानाको खोजीमा आएको हुन सक्छ ।

खाद्य सुरक्षायुक्त हरियाली सहर

कुनै पनि सहरको खाद्यान्न आवश्यकता आंशिक रूपमा परिपूर्ति गर्न, सहरमा खेर गएका जमिनको सदुपयोग गरी हरियाली कायम गर्न, सहरवासीको स्वास्थ्यमा सुधार गर्न र सहरवासीले उत्सर्जन गर्ने ठोस तथा तरल फोहोरको उचित व्यवस्थापन गर्न खाद्य हरियाली सहरको अवधारणा विकास भएको हो । यसका लागि घरघरमा कौसी, करेसाबारी वा गमलामा उपयुक्त जातका बिरुवा लगाउने, सामुदायिक स्तरमा खाली घडेरी वा जमिनमा खनजोत गरी बाली लगाउने काम गरिन्छ । कृषि प्रविधिमा भएको प्रगतिका परिणामस्वरूप अहिले एक्वाकल्चर, हाइड्रोपोनिक्स जस्ता माटोविना खेती गर्ने प्रविधिबाट भवनभित्रै तरकारी तथा फलफूल खेती गर्ने प्रचलन पनि सुरु भएको छ । परम्परागत रूपमा गरिने च्याउ खेती र फूल व्यवसाय पनि सहरभित्र गरिने कृषिअन्तर्गत पर्दछ ।

नयाँ सहरको गुरुयोजना तयार गर्ने क्रममा सहरको भूउपयोग योजना तर्जुमा गर्दाकै बखत केही प्रतिशत जमिन खेतीका लागि छुट्याउन सकिन्छ । तर, पुराना सहरी बस्तीमा खाली जमिनको खोजी गरेर र सहरवासीलाई आफ्नो घर वा कम्पाउन्डभित्र उपयुक्त प्रविधिबाट खेती गर्न प्रेरित पनि गर्नुपर्ने हुन्छ । यसका लागि फोहोरमैला व्यवस्थापन, फोहोर पानीको व्यवस्थापनका सरल तरिकाबारे पनि घरपरिवार स्तरमा सिकाउनु पर्दछ । कतिपय अवस्थामा खेतीका लागि आवश्यक पर्ने माटो पनि घरमा उपलब्ध नहुन सक्छ, जसका लागि भान्साबाट निस्कने जैविक फोहोरबाट कम्पोस्ट मल बनाई माटोका रूपमा प्रयोग गर्न सकिन्छ ।

सहरभित्र जग्गा उपलब्ध भएको खण्डमा सहरवासीले आफ्नै जग्गा वा अरूको जग्गा लिज वा भाडामा लिएर पनि खेती गर्न सक्छन् । नेपालको सन्दर्भमा नगरपालिकाहरूमा सहरीभन्दा ग्रामीण क्षेत्र बढी भएकाले खाद्य हरियाली सहरका रूपमा कतिपय सहरलाई नमुनाका रूपमा विकास गर्ने प्रशस्त सम्भावना छ । यी नगरपालिकामा उत्पादन हुने खाद्यान्न, फलफूल वा तरकारीलाई स्थानीय स्तरमा खपत गर्ने वा नजिकैको ठूला सहरमा निर्यात गर्न सकिन्छ । खाली जमिन नभएका घना सहरी क्षेत्रमा घरपरिवारले आफ्नो सोख वा समय कटाउन कौसी, बरन्डा वा करेसामा पनि सीमित मात्रामा तरकारी र फलफूल खेती गर्न सक्छन् ।

सहरी खाद्य हरियालीका लागि उपयुक्त स्थान

निजी क्षेत्रले विकास गर्ने सामूहिक आवास क्षेत्रका खाली ठाउँहरू सहरी खेतीका लागि उपयुक्त स्थान हुन सक्छन् । त्यसका लागि सम्बन्धित आवास क्षेत्रको उपभोक्ता समितिले इच्छुक व्यक्तिलाई भाडामा जग्गा उपलब्ध गराउन र त्यसबाट केही आम्दानी गर्न सक्छ । आवास क्षेत्रका बासिन्दाका लागि यसबाट हुने फाइदा भनेका त्यहाँ उब्जनी भएको ताजा खाद्यान्न वा तरकारी सजिलैसँग उपलब्ध हुने र हरियालीयुक्त वातावरणमा रमाउन पाउनु हो ।

कतिपय सहरमा सैनिक ब्यारेक, विद्यालय वा कलेज परिसर, सरकारी कार्यालय परिसर, मन्दिर परिसर जस्ता संस्थागत भवन क्षेत्रका खाली ठाउँहरू उपयोगविहीन अवस्थामा छन् । स्थानीय परिस्थिति र उपयुक्तता हेरी त्यस्ता जमिनमा व्यवस्थित रूपमा खेती गर्न सकिन्छ । ठाउँअनुसार यस्तो कुनै स्थान खाद्यान्नका लागि उपयुक्त होला भने कतिपय स्थान फलफूल वा तरकारीका लागि उपयुक्त हुन सक्ला ।

नदी किनार क्षेत्र पनि सहरी खेतीका लागि उपयुक्त स्थान हो । सामान्यतया नदी किनार वा बगरमा मौसमी तरकारी, खरबुजा खेती आदि गर्नु उपयुक्त हुन्छ । यी स्थानबाट उत्पादित वस्तुको बजार खोज्न टाढा जानु पर्दैन, सहरका व्यस्त सडक वा राजमार्गमा ओहोरदोहोर गर्ने यात्रु नै तिनका नियमित ग्राहक हुन सक्छन् ।
सहरका ठूला सडक वा राजमार्गको किनारमा फलफूका बोटबिरुवा रोप्ने चलन नेपाललगायत धेरै देशमा देख्न सकिन्छ । यसबाट सडकमा छहारी हुने, सडकको सुरक्षा हुने र केही मात्रामा मौसमअनुसारको ताजा फलफूल आपूर्ति पनि हुन्छ । त्यसैगरी ठूला पार्किङ क्षेत्र वा बसपार्कमा पनि तरकारी वा फलफूल खेती गर्न सकिन्छ ।

सहरी हरियालीका फाइदा

सामान्यतया सहरका बासिन्दा विभिन्न पेसा वा व्यवसायमा व्यस्त रहन्छन् र त्यसबाट फुर्सद निकाल्न उनीहरूलाई निकै मुस्किल पर्दछ । उनीहरूबाट खेतीपाती हुन्छ भन्ने अपेक्षा गर्नु पनि उपयुक्त हुँदैन । तर, मध्यमवर्गीय गृहिणीहरू बिहानबेलुकाबाहेक दिउँसोको समयमा फुर्सदिला देखिन्छन् । उनीहरूलाई आवश्यक तालिम र उत्प्रेरणा दिएर सहरी खेतीपातीतर्फ आकर्षित गर्न सकिन्छ । काठमाडौं उपत्यकालगायत देशका ठूला सहरमा गृहिणीले स्वतस्फुर्त रूपमा कौसी खेती र करेसाबारीमा काम गरेको देख्न सकिन्छ । यसका लागि नगर वा गाउँपालिकाले सघाउने गरेको पनि पाइन्छ । त्यसैगरी बेरोजगार मानिसका लागि सहरी खेती रोजगारीको राम्रो माध्यम हुन सक्छ । आफ्नो खाद्यान्नको आवश्यकता पूरा गर्नुका साथै आफ्नो उत्पादन बेचेर केही आम्दानी गर्ने बाटो पनि खुल्छ । निर्माण क्षेत्रमा काम गर्ने कामदारहरू वेलाबखत रोजगारविहीन पनि हुने गर्दछन् । यसरी खाली बस्नुपर्ने समयलाई कौशी खेती वा करेसाबारीमा प्रयोग गर्न सकिन्छ ।

ठूलो परिमाणमा जग्गा उपलब्ध भएको अवस्थामा जग्गाधनी व्यक्ति वा संस्थाले पनि खेती गर्न इच्छुक व्यक्ति वा संस्थालाई व्यावसायिक खेती गर्न निश्चित अवधिका लागि जग्गा उपलब्ध गराउन सक्छन् । सहरी क्षेत्रमा प्रस्तावित भवन निर्माणस्थल, सार्वजनिक विद्यालय वा कलेजका जग्गा यस्तो प्रयोजनमा उपलब्ध गराउन सकिन्छ । नेपालमा केही मात्रामा यस्तो अभ्यास भएको पनि छ । नेपालमा अहिले नगरपालिकासँग आफ्नो स्वामित्वमा जग्गा कमै मात्र हुने गर्दछ । तसर्थ नगरपालिकाले खेतीपातीका लागि जग्गा उपलब्ध गराउन कठिन हुन सक्छ । तर, आफूमातहतका विद्यालय, अस्पताल, पर्ती जग्गालाई उपयुक्तता हेरी खेतीपातीका लागि उपयोग गर्न सकिन्छ ।

सहरी हरियाली र जनस्वास्थ्य

सहरी खाद्य हरियालीका कार्यक्रमबाट समूहमा गरिने खेतीले सामाजिक सद्भाव बढाउन मद्दत पु¥याउँछ । खेतीपातीसँग जोडिएका हाम्रा मौलिक सांस्कृतिक क्रियाकलापमा योगदान पुग्न सक्दछ । विषादीयुक्त खाद्यान्नबाट हुन सक्ने रोगबाट बच्न र स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ । खाद्यान्न बगैँचाहरूले सहरी क्षेत्रमा जमघट हुने उपयुक्त स्थानको काम गर्न सक्छन् । सामुदायिक बगैँचा वा उद्यानले बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । समुदायस्तरमा हुने खाद्य हरियालीका पहलबाट सामाजिक सशक्तीकरणमा टेवा पुग्छ । त्यसैगरी स्थानीय उत्पादनको वृद्धिले कुल गार्हस्थ्य उत्पादन बढाउन सहयोग पुग्छ र खाद्यान्न आयातमा कमी आउँछ । परनिर्भरता घटेसँगै खाद्य सुरक्षा बढाउन मद्दत गर्दछ । वातावरणमैत्री प्रविधिले हरित अर्थतन्त्रको विकासमा टेवा पुग्छ । घरेलु र स्थानीय उत्पादनले रोजगारीको अवसर बढाउँछ । स्थानीय आर्थिक क्रियाकलाप बढेसँगै गरिबी निवारणमा टेवा पुग्छ । बिचौलियाको नियन्त्रणमा रहेको हालको खाद्यान्न र फलफूल वितरण प्रणालीमा सुधार गर्न सकिन्छ । यसका साथै वर्षौँदेखि प्रयोगविहीन रहेका ससाना जग्गाको सदुपयोग गर्न सकिन्छ । हरियाली प्रवद्र्धन गरी सहरी सौन्दर्य बढाउन सकिन्छ ।

फोहोरमैलाबाट अर्गानिक मल उत्पादन गरी अधिकांश सहरमा समस्याका रूपमा रहेको फोहोरमैला विसर्जन कार्यलाई व्यवस्थित गर्न सकिन्छ । सहरमा हरित क्षेत्रको विस्तार गरी तापक्रम वृद्धि न्यूनीकरण र वातावरणमैत्री प्रविधिको प्रयोगबाट जलवायु परिवर्तनको असर कम गर्न सकिन्छ । खाली जग्गाको उचित प्रयोगबाट माटोको गुणस्तर तथा पोषणमा सुधार ल्याउनुका साथै सहरी क्षेत्रमा जल तथा वायु प्रदूषण नियन्त्रण गर्न सकिन्छ । हरियाली क्षेत्रको विकासबाट जमिनको पानी सोस्ने क्षमता बढ्ने हुनाले यसले पानीको पुनर्भरणमा वृद्धि गरी जमिनमुनिको जलसतह कायम राख्न मद्दत पु¥याउँछ र सहरमा बाढीको प्रकोप घटाउन मद्दत पुग्छ । विभिन्न प्रयोजनमा उपयोग गरी निस्कने फोहोर पानीलाई सहरी कृषिमा पुनरप्रयोग गरी जल प्रदूषणसमेत कम गर्न सकिन्छ ।

खाद्य हरियाली प्रवद्र्धनमा सरकारको भूमिका

खाद्य हरियाली सहरको अवधारणा कार्यान्वयन गर्ने सबभन्दा पहिलो जिम्मेवारी स्थानीय पालिकाको हो । नगरपालिकाहरूले वार्षिक नीति तथा कार्यक्रममा नै खाद्य हरियाली सहरको अवधारणालाई आत्मसात् गर्ने र मातहतका कृषि कार्यालय परिचालन गरी टोलटोलमा तालिम सञ्चालन गर्ने, प्राविधिक कर्मचारीको व्यवस्था गर्ने, बीउबिजनको व्यवस्था गर्ने, वार्षिक रूपमा सहरी कृषि मेला आयोजना गरी उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने र अध्ययन भ्रमणको व्यवस्था गर्ने आदि कार्य गर्नु उपयुक्त हुन्छ ।
नगरपालिकाहरूले यस कार्यका लागि आमा समूह, टोल सुधार समिति, युवा क्लबजस्ता स्थानीय गैरसरकारी संस्था वा सामुदायिक संस्थाको परिचालन गर्न सक्दछन् । त्यस्तै, खाद्य हरियाली सहर विकासका लागि आवश्यक ज्ञान, सल्लाह र सुझाव दिन कृषि ज्ञान केन्द्र र प्राज्ञिक संस्थाहरू परिचालन गर्नु आवश्यक हुन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) जस्ता संस्थाले यसका लागि आवश्यक अनुसन्धान गरी आवश्यक ज्ञान उपलब्ध गराउन सक्दछन् ।

अबको बाटो

राष्ट्रिय सहरी नीतिमा पनि सहरी क्षेत्रहरूमा हरियाली बढाउने प्रावधान राखिएको छ । कोभिड–१९ महामारीका कारण सहरी क्षेत्र खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने वा केही मात्रामा भए पनि घरपरिवारले आफैँले खाद्य पदार्थ उत्पादन गर्न सक्ने हुनुपर्छ भन्ने मान्यता स्थापित हुन थालेको छ । खाद्य हरियालीको प्रवद्र्धन र कार्यान्वयनमा यस मान्यताले अवश्य सघाउ पुग्नेछ ।

खाद्य सुरक्षा र हरियाली सहरको महत्वबारे जनचेतना वृद्धि गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने र परम्परागत वृक्षरोपण प्रणालीमा सुधार गर्नु आवश्यक छ । सहरी योजना तर्जुमाको क्रममा यस अवधारणालाई योजनाको एउटा प्रमुख अंग बनाउनु पर्छ । पर्यावरणीय दृष्टिकोणले उपयुक्त बोटबिरुवाको छनोट गर्ने र सार्वजनिक स्थानमा लगाइएका फलफूलका बोटको उचित स्याहारसम्भार गर्नुपर्दछ । नेपालमा तीव्र रूपमा सहरीकरण भइरहेकाले सहरहरूलाई हरियालीयुक्त बनाउन, खाद्यान्नको आपूर्ति गर्न, तापक्रम वृद्धिमा नियन्त्रण गर्न र ठोस तथा तरल फोहोरको व्यवस्थापन गर्नका लागि खाद्य हरियाली सहरको अवधारणालाई आत्मसात् गर्नुपर्ने वेला भइसकेको छ । यसका लागि स्थानीय तहले उपयुक्त नीति तथा कार्यक्रम तर्जुमा गरी सहरवासीलाई त्यसतर्फ आकर्षित गर्नुपर्दछ, जसबाट सहरवासीलाई बहुआयामिक लाभ प्राप्त हुन्छ । त्यसका साथै जलवायु परिवर्तनका नकारात्मक असरलाई न्यूनीकरण गर्नका लागि पनि यो अवधारणा प्रभावकारी हुने देखिन्छ । विकसित मुलुकले सहरी योजनामा यो अवधारणालाई समावेश गर्न सुरु गरिसकेका छन् । स्थानीय स्तरमा प्राविधिक तालिम, आवश्यक साधनस्रोतको व्यवस्था र उत्प्रेरणाका उपाय अवलम्बन गरी यो अवधारणाको प्रचारप्रसार गरी सहरको खाद्य सुरक्षाको अवस्थामा सुधार गर्ने र हरियाली प्रवद्र्धन गरी जलवायु परिवर्तनको असरलाई कम गर्न अब ढिला गर्न हुँदैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x