प्रतिनिधिसभा बैठक स्थगित, आइतबार अर्को बैठक
काठमाडौं, ११ जेठ । काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको आजको बैठक स्थिगित भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको मुद्दालाई निरन्तरता दिदै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको थियो ।
प्रमुख प्रतिपक्ष काँग्रेसको अवरोध पछि संसद सभामुख देवराज घिमिरले आजको बैठक स्थगितसँगै सम्पूण कार्यक्रम रद्द गरिएको जानकारी गराए । संसद बैठक आगामी आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
संसदको आजको कार्यक्रममा प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल गर्न प्रस्ताव पेश गर्ने र सो माथिका उठेका प्रश्नहरुको उत्तर दिने तय भएको थियो । सरकारले नीति तथा कार्यक्रम आजै पास गर्ने तयारी गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १ गते संसदको दुवै सदनमा आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम पेस गरेका थिए ।
संविधानले नै जेठ १५ गते बजेट सार्वजनिक गर्ने निर्धारण गरेको छ । बजेट पूर्व नीति तथा कार्यक्रम सदनबाट पारित हुन पर्छ ।