आर्थिक सर्वेक्षणः आर्थिक वृद्धिदर ३.९ प्रतिशत र प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर पुग्ने अनुमान
काठमाडाैं, १४ जेठ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण २०८०÷८१ सार्वजनिक गर्दै ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेका छन् । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १ दशमलव ०५ प्रतिशतमात्रै भएको थियो ।
मन्त्री पुनले कृषि, यातायात तथा भण्डारण, आवास तथा भोजन, वित्तीय तथा बीमा र पेशागत वैज्ञानिक क्षेत्रमा भएको वृद्धिका कारण चालु आर्थिक वर्षमा मुलुककाे अर्थतन्त्रमा सुधार आएकाे बताएका हुन् ।
गैरकृषि क्षेत्रतर्फ उत्पादनमूलक उद्योग र निर्माण बाहेक अरु क्षेत्रको उत्पादन बढ्ने अनुमान छ । कृषि क्षेत्रको उत्पादन ३ दशमलव ०५ र गैरकृषि क्षेत्रको उत्पादन वृद्धि ३ दशमलव ७५ प्रतिशत हुने अनुमान छ ।
सरकारले लगानी अभिवृद्धि, कर्जा विस्तार, आयातमा सुधार र पर्यटन आगमन बढ्दै जाने अनुमान पनि गरेको छ ।
सरकारले आगामी दश वर्षमा प्रतिपर्यटक खर्च १२५ अमेरिकी डलर पु¥याउने लक्ष्य लिएको छ । सन् २०२३ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलर रहेको छ ।
यस्तै चालू आर्थिक वर्ष २०८०/०८१ मा नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
प्रतिव्यक्ति आय एक हजार चार सय ५६ अमेरिकी डलर पुग्ने अनुमान गरिएकाे छ भने चालू आर्थिक वर्ष कुल लगानी २ दशमलव ८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान गरीएकाे छ ।
यस्तै अर्थमन्त्री पुनले चालू वर्षको फागुनसम्म सङ्घीय सरकारको राजश्व संकलन ६.९ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको भन्दै संघीय खर्च २.९ प्रतिशतले बढेर ८ खर्ब १ अर्ब ९८ करोड पुगेको बताए ।
फागुनसम्म कूल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको र कूल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
यता अर्थमन्त्री पुनले फागुनसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ बढेको, बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल बढेको जानकारी दिए ।