सरकारले आज १९ खर्बको बजेट सार्वजनिक गर्दै, नयाँ करका व्यवस्था गरिँदै
काठमाडाैं, १५ जेठ । आज मंगलबार अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान सार्वजनिक गर्दैछन्।बजेट सार्वजनिकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज दिउँसो एक बजे बोलाइएको छ। त्यसअघि मन्त्रिपरिषद्को बैठक बसेर बजेट पारित गर्नेछ।
आज दिउँसो १ बजे उनले संघीय संसद्को संयुक्त बैठकमा वाचन गर्ने आर्थिक वर्ष २०८१/८२ को बजेटमा केही नयाँ सुधारका कार्यक्रम र निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने गरी केही नयाँ कार्यक्रम आउने छन्।
गत वर्ष लगाइएका करमा आएको विवाद निरूपण गर्ने र कर कानूनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनको समेत व्यवस्था गरिँदै छ। यस पटक पनि बजेटबाट केही नयाँ करको व्यवस्था गरिने छ।
यस्तै वृद्धभत्ता पाउने उमेर दुई वर्षअघि ७० वर्षबाट ६८ मा झारिएकोमा यस बजेट मार्फत पुनः ७० वर्ष नै पुर्याउन लागिएकाे छ । बजेट मार्फत १०० वर्ष माथिको उमेरकाहरुलाई भत्ता दोब्बर दिने कार्यक्रम पनि अगाडि सारिएकाे छ । हाल वृद्धभत्ताका रुपमा मासिक ४ हजार रुपैयाँ दिने गरिएको छ। सय वर्ष पुगेकाहरुलाई ८ हजार रुपैयाँ दिने गरी अर्थमन्त्रीले बजेट विनियोजन गरेका छन्।