सिटिजन्स बैंकको लाभांश घोषणा
काठमाडौं, ७ असोज । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
सोमबार अपरान्ह तीन बजे बसेको सञ्चालक समितिको बैठकले कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा चार प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।
कम्पनीको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँ रहेको छ । २०६४ साल बैशाख ७ गतेबाट कारोबार सञ्चालन गरि विगत १८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको उक्त कम्पनीले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै शेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ ।
आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औषत लाभांश दर ११.५६ प्रतिशत छ भने, प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औषत लाभांश दर १२.१० प्रतिशत रहेको छ ।
यसअघि वाणिज्य बैंक मध्येकै एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट दिने लाभांश दिने घोषणा गरिसकेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।