दशैंमा बसको अग्रिम टिकट अनलाइनबाटै
काठमाडौं, ९ असोज । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको जनाएको छ ।
अहिले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्य र पोखराबाट नेपालका सबै प्रमुख सहरमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ ।
बस व्यवसायी र सरकारबीच टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफल जारी रहेको छ । सरकारको निर्णय आएसँगै अन्य गन्तव्यका लागि पनि बससेवाबाट बुकिङ खुल्ने कम्पनीले जनाएको छ ।
विगतमा समेत दशैंमा यात्रुहरूलाई सहज रूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवाले अझ परिस्कृत रूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको दाबी गरेको छ ।
बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ ।
प्रत्येक वर्ष दशैंमा बससेवाले टिकटको संख्या बढाउँदै लगेको खनालले बताए । उनले यो वर्ष पनि दैनिक टिकटको कोटा बढाउने तयारी भइरहेको जानकारी दिए ।
‘बुकिङ खुलेपछि टिकटका लागि बसपार्क वा काउन्टरमा जानुपर्ने बाध्यता हटोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘अनलाइनबाट टिकट काट्दा बस र सिटसमेत छान्न पाउने भएपछि यात्रु र दोहोरो टिकटको विवाद आउने छैन ।’
बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौंको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याएको छ ।
बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जान सो लाउन्जबाट सेवा लिन सक्छन् । बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् ।