टोयोटा बन्याे लगातार पाँचौँ वर्ष विश्वको सर्वाधिक कार बिक्रेता, २०२४ मा टोयटाका ९० लाख ५२ हजार कार बिक्री
![टोयोटा बन्याे लगातार पाँचौँ वर्ष विश्वको सर्वाधिक कार बिक्रेता, २०२४ मा टोयटाका ९० लाख ५२ हजार कार बिक्री](https://arthakoartha.com/wp-content/uploads/2025/01/toyata.jpg)
काठमाडाैं, १८ माघ । सन् २०२४ मा टोयोटा ब्राण्ड विश्वकाे सबैभन्दा बढी विक्रि हुने अटाेमेकर बनेकाे छ । ग्लोबल कार सेल्सको तथ्यांक अनुसार गएको वर्ष सन् २०२४ मा टोयटाका ९० लाख ५२ हजार कार विश्वव्यापी रुपमा बिक्री भएका छन्।
योसँगै जापानी कार उत्पादक टोयोटा लगातार पाँचौँ वर्ष विश्वको सर्वाधिक कार बिक्रेता बनेको हो । समग्रमा पहिलो नम्बरमा भए पनि सन् २०२३ को तुलनामा टोयटाको बिक्री ३.७ प्रतिशतले घटेको छ ।
विश्वमा धेरै कार बेच्ने कम्पनीको सूचीको दोस्रो नम्बरमा फक्सवागन परेको छ । जर्मनी ब्राण्ड फक्सवागनले गत वर्ष ७६ लाख ५० हजार वटा कार बेचेको छ ।
तेस्रोमा कोरियन ब्राण्ड हुन्डाईका सन् २०२४ मा ६२ लाख ६० हजार कार बिक्री भएका छन् । चौथोमा फोर्ड र पाँचौँ नम्बरमा होण्डा छ । गत वर्ष अमेरिकी कम्पनी फोर्डका ५६ लाख ७३ हजार र जापानी कम्पनी होण्डाका ५२ लाख वटा कार विश्वव्यापी रुपमा बिक्री भएका छन् ।
बिक्रीका हिसाबले विश्वको शीर्ष ५ नम्बरमा पर्न नसके पनि सन् २०२४ मा चिनियाँ कम्पनी बीवाईडीले कार बिक्रीको दर ४२ प्रतिशतले बढाएको छ । ग्लोबल कारको तथ्यांक अनुसार सन् २०२४ मा बीवाईडीले विश्वव्यापी रूपमा ३३ लाख ३९ हजार कार बेचेको छ । गत वर्ष बीवाईडीले अमेरिकी देशमा ३३८ प्रतिशत र युरोपमा २१३ प्रतिशतले कार बिक्री बढाएको हो ।