विदेशमा बस्ने दोलखावासीले अनलाइबाट शेयर भर्न पाउने
काठमाडौं,१४ साउन । विदेशमा बस्ने दोलखाबासीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा अनलाइनबाट सेयर आवेदन भर्न पाउने भएका छन् । बिक्री प्रबन्धक नागरिक लगानी कोष र सहायक प्रबन्धक सनराइज क्यापिटल तथा माथिल्लो तामाकोसी आयोजनाको वेबसाइटमार्फत सेयर आवेदन भर्न पाउने ब्यवस्था मिलाउने तयारीमा लागेको छ ।
विदेशमा रहेका दोलखालीले अनलाइन फाराम भरी पठाउने र परिवारका सदस्यले सो फाराम संकलन केन्द्रमा बुझाई रकम जम्मा गरेपछि लगानी सुनिश्चित हुनेछ । बिक्री प्रबन्धक कम्पनीले सेयर निष्कासन सुरु हुनुअगावै फाराम वेबसाइडमा राख्ने तयारी गरेको छ ।
वैदेशिक रोजगारीमा रहेकाको पनि बैंक खाता नभएमा परिवारको सदस्यकै खातामार्फत सेयर आवेदन दिन पाउनेछन् । काठमाडौंमा बसोबास गर्नेले सोही ठाउँबाटै र जिल्लाका नागरिकले स्थानीय तहबाटै सेयर आवेदन भर्न पाउने व्यवस्था मिलाइने भएको छ ।
जिल्लामा रहेका दोलखावासीको हकमा भने विभिन्न २१ स्थानबाट सेयर संकलन गरिने भएको छ ।
दोलखावासीका लागि यही १६ साउनदेखि १४ भदौसम्मका लागि सेयर आवेदन अवधि तोकिएको छ ।