Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

विकास बैंकहरूका त्रैमासिक परिणाम : कसैले नाफामा फड्को मारे, कसैले नोक्सानी घटाए, त कसैको हालत झन् गम्भीर

विकास बैंकहरूका त्रैमासिक परिणाम : कसैले नाफामा फड्को मारे, कसैले नोक्सानी घटाए, त कसैको हालत झन् गम्भीर

काठमाडाैं, ८ वैशाख ।  चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरणले विकास बैंकहरूको आर्थिक स्वास्थ्य मिश्रित देखिएको छ। केही बैंकहरूले उल्लेख्य नाफा कमाएका छन् भने केहीले अघिल्लो वर्षको तुलनामा नोक्सानी घटाएका छन्। तर, केही बैंकहरू अझै पनि गहिरो वित्तीय संकटमा रहेका देखिन्छन्। राष्ट्र बैंकमा सार्वजनिक गरिएको विवरणअनुसार सिन्धु विकास बैंकदेखि कर्पोरेट डेभलपमेन्ट बैंकसम्मका वित्तीय सूचकहरू फरक फरक अवस्थामा छन् ।

सिन्धु विकास बैंक : नोक्सानीबाट नाफातर्फ फड्को

सिन्धु विकास बैंक चालु त्रैमासमा आठ करोड रूपैयाँ नाफामा पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा बैंक पाँच करोड रूपैयाँ नोक्सानीमा थियो। यद्यपि, बैंकको खुद ब्याज आम्दानी ३४ प्रतिशतले घटेर १० करोडमा सीमित भएको छ। गत वर्ष यो आम्दानी १५ करोड रूपैयाँ थियो।

१२ करोड रूपैयाँ प्रावधान फिर्ता (राइट ब्याक) भएपछि बैंकलाई नाफा देखिएको हो। तर बैंकको वितरण योग्य नाफा २४ करोडले ऋणात्मक छ। बैंकको खराब कर्जा दर ८.६४ प्रतिशत रहेको छ भने प्रति सेयर आम्दानी (EPS) १८ रूपैयाँ ७६ पैसा, प्रति सेयर नेटवर्थ ७९ रूपैयाँ ८९ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) ५८ गुणा रहेको छ। बैंकको सेयर मूल्य हाल एक हजार रूपैयाँभन्दा माथि कारोबारमा छ।

सप्तकोशी डेभलपमेन्ट बैंक : नोक्सानी घटाएर सुधारको संकेत

बैंक चालु त्रैमासमा करिब तीन करोड रूपैयाँ नोक्सानीमा छ, जुन गत वर्षको १२ करोडको तुलनामा उल्लेख्य सुधार हो। बैंकको खुद ब्याज आम्दानी ८२ प्रतिशतले बढेर ११ करोड पुगेको छ। वितरणयोग्य नाफा भने अझै पनि ४७ करोडले ऋणात्मक छ। खराब कर्जा दर ११.४२ प्रतिशतमा झरेको छ। बैंकको सेयर कारोबार मूल्य एक हजार एक सय २० रूपैयाँभन्दा माथि छ।

नारायणी डेभलपमेन्ट बैंक : घाटा अझ गहिरिँदै

नारायणी बैंक तेस्रो त्रैमासमा एक करोड २६ लाख रूपैयाँ नोक्सानीमा पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा बैंकको नोक्सानी ४२ रूपैयाँ मात्र थियो। खुद ब्याज आम्दानी ८१ प्रतिशत घटेर १२ करोडमा सीमित भएको छ, जब कि अघिल्लो वर्ष ६४ करोड रूपैयाँ थियो। खराब कर्जा ४४.९६ प्रतिशत रहेको छ। वितरण योग्य नाफा एक करोड ऋणात्मक, सेयर कारोबार मूल्य एक हजार सात सय ९० रूपैयाँभन्दा माथि छ।

ग्रिन डेभलपमेन्ट बैंक : नाफामा मजबुत वृद्धि

ग्रिन बैंकले त्रैमासिक नाफा १७ प्रतिशतले बढाएर दुई करोड १२ लाख रूपैयाँ पुर्‍याएको छ। गत वर्ष यो नाफा एक करोड ८१ लाख थियो। खुद ब्याज आम्दानी २% बढेर १४ करोड पुगेको छ। वितरण योग्य नाफा ७४ लाख, खराब कर्जा ४.८७ प्रतिशतमा घटेको छ। EPS पाँच रूपैयाँ २७ पैसा, प्रति सेयर नेटवर्थ एक सय १३ रूपैयाँ, P/E अनुपात २३० गुणा र सेयर कारोबार मूल्य एक हजार चार सय रूपैयाँभन्दा माथि छ।

कर्पोरेट डेभलपमेन्ट बैंक : नाफा दोब्बर, तर जोखिम यथावत

कर्पोरेट बैंकले नाफा १०० प्रतिशत बढाएर एक करोड ७७ लाख पुर्‍याएको छ। गत वर्ष यो नाफा ८७ लाख थियो। खुद ब्याज आम्दानी १६ प्रतिशत घटेर पाँच करोडमा सीमित भएको छ। गत वर्ष प्रावधान तीन करोड ६१ लाख राखेकोमा यसपालि मात्र ६६ लाख प्रावधानमा राखिएको छ।

वितरण योग्य नाफा दुई करोड ५६ लाख ऋणात्मक, खराब कर्जा १३.०९ प्रतिशत , EPS चार रूपैयाँ ५२ पैसा, प्रति सेयर नेटवर्थ एक सय ४४ रूपैयाँ, P/E अनुपात ४९७ गुणा रहेको छ। सेयर मूल्य दुई हजार चार सय रूपैयाँभन्दा माथि कारोबारमा छ।

विकास बैंकहरूको नाफा–नोक्सानीमा व्यापक भिन्नता देखिएको छ। केही बैंकले प्रावधान फिर्ता तथा अन्य आम्दानीमार्फत नाफा बढाएका छन् भने केहीले खराब कर्जाको चापले घाटा बेहोरिरहेका छन्। वितरण योग्य नाफा अधिकांश बैंकहरूको ऋणात्मक रहेकोले बोनस तथा लाभांश वितरणमा अझै चुनौती रहने देखिन्छ।

बैंकहरूका सेयर मूल्य भने उच्च अवस्थामा रहे पनि लगानीकर्ताले EPS, P/E अनुपात र खराब कर्जा दरजस्ता सूचकहरूलाई ध्यानपूर्वक विश्लेषण गर्नु आवश्यक छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x