गगन थापाले दिए सरकारबाट बाहिरिने चेतावनी

काठमाडौं, ११ वैशाख । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आधारभूत कुरामा सम्झौता गर्नुपर्ने अवस्था आएमा सरकारबाट बाहिरिने बताएका छन् ।
विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली काङ्ग्रेस बाध्य भएर गठबन्धनमा रहेको भन्दै आधारभूत कुरामा पनि सम्झौता गरेर बस्नुपर्यो भने सरकारबाट बाहिरिने बताए ।
उनले भने, ‘अहिले मैंले समस्याको कुराहरु गरें । तर हामीले समाधान पनि दिनुपर्छ । हाम्रा बाध्यताहरु छन्, एक्लै छैनौँ, सरकारमा छौँ । कतिपय कुरामा कम्प्रमाइज गरेका छौँ । तर आधारभूत कुरामा कम्प्रमाइज गर्न सक्दैनौं । हामीले यो भन्न सक्नुपर्छ, परिआएको खण्डमा सरकारबाट बाहिर जान्छौँ । सरकार मात्रै सबैभन्दा ठूलो कुरा होइन ।’
कानून एवम संस्था निर्माण गर्ने जस्ता कुरामा सम्झौता हुन नसक्ने भन्दै काङ्ग्रेसले यो भन्न सक्ने क्षमता राख्नुपर्ने पनि उनको भनाइ छ ।
यस्तै, उनले संघीयताको लोकप्रियता छैन भनेर भाग्ने होईन् नागरिकहरुसँग बसेर संवाद गरेर सुधार गर्दै लानुपर्ने पनि बताए । उनले भने, ‘संघीयताले जसरी काम गर्नुपर्ने थियो त्यस हिसाबले गरिरहेको छैन् । त्यसैले संघीयताको लोकप्रियता छैन भनेर भाग्ने होइन् । नागरिकहरुसँग बसेर संवाद गर्ने हो । सच्चाउनुपर्ने कुरा सच्चाउने हो ।’