Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

आज विद्युत प्राधिकरणले श्वेतपत्र जारी गर्ने, साढे ५ अर्ब सञ्चित घाटामा

आज विद्युत प्राधिकरणले श्वेतपत्र जारी गर्ने, साढे ५ अर्ब सञ्चित घाटामा

काठमाडौं, १५ वैशाख । साढे ५ अर्ब सञ्चित घाटामा भएको तथ्याङ्क सहित नेपाल विद्युत प्राधिकरणले आज श्वेतपत्र जारी गर्दै छ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नाफा देखाएको विद्युत् प्राधिकरणलाई हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घाटा देखाएका छन् । प्राधिकरण ५ अर्ब २६ करोड सञ्चित घाटामा रहेको देखाउँदै श्वेतपत्र तयार गरिएको छ ।

‘आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालू आवको फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड नाफा भएको छ, तर आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानीमै रहेको देखिन्छ । प्राधिकरणको वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षहरूको विस्तृत मूल्याङ्कनलगायत सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था सुनिश्चित गर्न डीडीएको प्रक्रिया अगाडि बढाइने छ’, श्वेतपत्रमा उल्लेख छ ।

यसअघि कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर प्राधिकरणलाई आव २०७३/७४ बाट निरन्तर नाफामा ल्याई सञ्चित घाटा पूर्ति गर्दै आव २०८०/८१ सम्ममा करिब ४७ अर्ब रुपैयाँ सञ्चित नाफामा पुर्‍याएको बताएका थिए । उनी प्राधिकरणबाट बाहिरिएको एक महिनामात्र भएको छ ।

कुलमानको ठाउँमा आएका हितेन्द्रले प्राधिकरणको वास्तविक अवस्थाबारे श्वेतपत्र तयार गर्न लगाएका हुन्, जुन भोलि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ । श्वेतपत्रअनुसार प्राधिकरणसँग करिब ६ खर्ब ४४ अर्बको कुल सम्पत्ति रहेको छ, जसमा २ खर्ब ३५ अर्ब स्थिर सम्पत्ति हो । करिब २ खर्ब २० अर्बका निर्माणाधीन आयोजनाहरु रहेका छन् ।

नेपाल सरकारको प्राधिकरणमा २ खर्ब ६ अर्ब ७४ करोड रुपैयाँको शेयर छ । सञ्चित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडातर्फ रु. ५ अर्ब ८९ करोड गरी जम्मा २ खब ५९ अर्ब १० करोडको इक्वीटी रहेको छ ।

श्वेतपत्रअनुसार प्राधिकरणको दीर्घकालीन ऋण २ खर्ब ४८ अर्ब १२ करोड रहेको छ, जसमध्ये ७७ अर्ब ८ करोड नेपाल सरकारको आन्तरिक स्रोतबाट र १ खर्ब ७१ अर्ब ४ करोड नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायबाट लिइएको हो । कुल सम्पत्तिको करिब ३९ प्रतिशत ऋण देखिएको छ । प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको छ ।

आव २०८०/०८१ सम्ममा प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड रहेको छ । प्राधिकरणविरुद्ध विभिन्न अर्ध-न्यायिक तथा न्यायिक निकायमा विचाराधीन रहेका दाबी रकमसहितका मुद्दाहरुको सम्भावित दायित्व २०८१ फागुन मसान्तसम्म ८ अर्ब ४० करोड रुपैयाँ पुगेको देखिन्छ ।

प्राधिकरणले चालू आवको फागुन मसान्तसम्म भएका ठेक्कापट्टाअन्तर्गत ११ अर्ब ६१ करोडको बिल भुक्तानी गर्न सकेको छैन । हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रुपैयाँमध्ये चालू खातामा २ अर्ब ४७ करोड रहेको छ, जुन दैनिक सञ्चालनका लागि न्यूनतम जगेडा हो । निर्माण कार्यको बाँकी भुक्तानीका लागि जगेडा नरहेको हुँदा १० अर्ब रुपैयाँसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको श्वेतपत्रमा उल्लेख छ ।

आव २०८०/०८१ सम्मको कर्मचारीतर्फको अल्पकालीन तथा दीर्घकालीन दायित्वबापत ४७ अर्ब २४ करोड र धरौटीबापत २४ अर्ब ११ करोड रुपैयाँ दायित्व रहेको छ । नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज २९.५ अर्ब र टनकपुर विद्युतबापत ३ अर्ब गरी कुल ३२.५ अर्ब रुपैयाँ दायित्व बाँकी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *