Date

मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

हायर पर्चेज कर्जा दिने कम्पनीहरूलाई कडाइ, राष्ट्र बैंकले ल्यायो नयाँ नीतिगत व्यवस्था

हायर पर्चेज कर्जा दिने कम्पनीहरूलाई कडाइ, राष्ट्र बैंकले ल्यायो नयाँ नीतिगत व्यवस्था

काठमाडौं, १५ वैशाख । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा व्यवस्थामा कडाइ गर्दै नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (पाँचौँ संशोधन, २०८२) जारी गरेको हो ।

राष्ट्र बैंकका अनुसार अब हायर पर्चेज कर्जा दिने कम्पनीको न्यूनतम चुक्ता पूँजी (साधारण शेयर) ३० करोड रुपैयाँ हुनुपर्ने भएको छ । हायर पर्चेज कर्जा दिन दिएको स्वीकृति प्रत्येक दुई आर्थिक वर्षमा आर्थिक वर्ष समाप्त भएपछिको साउन मसान्तसम्ममा नवीकरण गरी सक्नु पर्ने व्यवस्था गरिएको छ । जसका लागि नवीकरण शुल्क २ लाख रुपैयाँ तोकिएको छ ।

हायर पर्चेज कर्जा दिन स्वीकृति लिने कम्पनीहरूका लागि विभिन्न थप शर्त तथा व्यवस्थाहरू गरिएको छ । अब हायर पर्चेज कर्जा दिने कम्पनीहरूले आफ्नो खुद सम्पत्तिको १० गुणा भन्दा बढी ऋण तथा सापटी लिन पाउने छैनन् ।

कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नुपर्नेछ ।

कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्नेछ । तर सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा देहायबमोजिमको सवारी साधनका लागि सवारी साधनको ऋण मूल्यको अनुपात ‘लोन टू भ्यालु रेसियो’ ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ । जसमा सबै प्रयोजनका विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधन पर्छन् ।

कम्पनीले कर्जा प्रवाह गर्दा ऋणीसँग अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ । तर २५ लाख वा सोभन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट स्थायी लेखा नम्बर लिन अनिवार्य हुनेछैन । हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि किसिमले निक्षेप वा बचत संकलन गर्न पाउने छैन ।

कम्पनीले १० लाख रुपैयाँभन्दा बढीको हायर पर्चेज कर्जा प्रवाह गर्नु परेमा अनिवार्य रूपमा कर्जा सूचना लिनु पर्नेछ । कम्पनीले एक सञ्चित कोष कायम राख्नु पर्नेछ । त्यस्तो सञ्चित कोषमा चुक्ता पूँजीको दोब्बर रकम नभएसम्म प्रत्येक आर्थिक वर्षको खुद मुनाफाबाट कम्तीमा बीस प्रतिशत र त्यसपछिका आर्थिक वर्षमा खुद मुनाफाको कम्तीमा दश प्रतिशत रकम थप्दै जानुपर्नेछ ।

यस्तो सञ्चित कोषमा जम्मा भएको रकम यस बैंकको स्वीकृति नलिई अन्य शीर्षकमा रकमान्तर गर्न वा खर्च गर्न नपाइने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *