विपरित प्रवाहमा सफलता: नेपाल बैंकको ऐतिहासिक नाफा वृद्धि, सरकारी अन्य दुई बैंक पछाडि परे

काठमाडाैं, १६ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले आफूलाई सकरात्मक आर्थिक दिशातर्फ मोड्न सफल भएको छ। अधिकांश वित्तीय सूचकांकहरूमा सुधार देखिएको नेपाल बैंकले नाफा वृद्धिदरको हिसाबले वाणिज्य बैंकहरूभित्र अग्रस्थान हासिल गरेको छ। समिक्षा अवधिमा बैंकले २१.३२ गुणा नाफा बढाउँदै २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ, जुन २०३२.८० प्रतिशतको आश्चर्यजनक वृद्धि हो।
यता, सरकारी स्वामित्वमा सञ्चालित अन्य दुई बैंक—राष्ट्रिय वाणिज्य बैंक (आरविवि) र कृषि विकास बैंक—को नाफा भने घटेको छ। राष्ट्रिय वाणिज्यको नाफा ४९.२९ प्रतिशतले घटेर १ अर्ब २० करोड ४३ लाख रुपैयाँमा सीमित हुँदा, कृषि विकास बैंकको नाफा १०.१७ प्रतिशतले घटेर १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ पुगेको छ। यसरी सरकारी बैंकहरूमध्ये नेपाल बैंक नै सबभन्दा मजबुत वित्तीय स्थितिमा रहेको देखिन्छ।
खुद ब्याज आम्दानीको दृष्टिकोणले पनि नेपाल बैंकले ४.८१ प्रतिशतले वृद्धि गर्दै ७ अर्ब १० करोड ७ लाख रुपैयाँ पुर्याएको छ। विपरीत, राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकको आम्दानी क्रमशः १०.८९ प्रतिशत र १४.९६ प्रतिशतले घट्दै ७ अर्ब १० करोड ४४ लाख र ६ अर्ब १२ करोड ५९ लाख रुपैयाँमा झरेको छ।
लाभांश क्षमताको सन्दर्भमा कृषि विकास बैंकले १२.२२ प्रतिशत लाभांश दिन सक्ने अवस्था बनाएको छ भने, नेपाल बैंकले उच्च नाफा गरे पनि वितरणयोग्य नाफा कम भएकाले २.०८ प्रतिशत मात्र लाभांश दिन सक्ने देखिएको छ। आरविविको अवस्थामा भने थप चिन्ताजनक चित्र देखिएको छ, किनभने बैंकको वितरणयोग्य नाफा ऋणात्मक (१ अर्ब २ करोड २ लाख रुपैयाँ) अवस्थामा पुगेको छ, जसले गर्दा सेयरधनीहरू लाभांशबाट वञ्चित हुने निश्चितजस्तै देखिन्छ।
बैंकहरूको व्यवसाय विस्तारको कुरा गर्दा पनि नेपाल बैंकले निक्षेप संकलनमा १९.९८ प्रतिशत वृद्धि गर्दै ३ खर्ब १३ अर्ब ७२ करोड १५ लाख रुपैयाँ पुर्याएको छ। कर्जा प्रवाहमा पनि बैंकले १५.९८ प्रतिशतको वृद्धि गर्दै २ खर्ब २२ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ पुगेको छ। कृषि विकास बैंकको निक्षेप ११.६७ प्रतिशतले र कर्जा प्रवाह ५.४५ प्रतिशतले बढेको छ। तर, राष्ट्रिय वाणिज्यको निक्षेप भने २०.१५ प्रतिशतले घटेको छ, यद्यपि कर्जा विस्तारमा भने १२.३७ प्रतिशतको वृद्धि देखिएको छ।
तर, तीनै बैंकको खराब कर्जा (एनपीए) दर भने चासोको विषय बनेको छ। नेपाल बैंकको खराब कर्जा ५.४५ प्रतिशत, कृषि विकासको ४.९८ प्रतिशत र राष्ट्रिय वाणिज्यको ४.६९ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो।
प्रतिसेयर आम्दानी (EPS) को दृष्टिले पनि नेपाल बैंक नै अगाडि देखिएको छ। बैंकको इपिएस २५.२६ रुपैयाँ छ भने कृषि विकासको १५.४० र आरविविको १०.२७ रुपैयाँ मात्र छ।