Date

बुध, बैशाख १७, २०८२
Wed, April 30, 2025

अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी

अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी

काठमाण्डौ, १६ वैशाख । अर्थ मन्त्रालयले समग्रमा देशको अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ । मन्त्रालयले प्रकाशित गरेको पछिल्लो अर्थ बुलेटिनमा अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ भएको तथा आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको उल्लेख छ ।

राजस्व परिचलानमा वृद्धि, पुँजीगत खर्चमा वृद्धि, करको दायरा विस्तारमा वृद्धि, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सुचकाङ्कमा वृद्धि, निर्यातमा वृद्धि, आयातमा वृद्धिलगायत कारण समग्रमा अर्थतन्त्रले गति लिएको मन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयका अनुसार सार्वजनिक वित्तका सूचक सकारात्मक रहेका छन् । चालू आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारको राजस्व परिचालन १२.७ प्रतिशत र कुल खर्च ४.०४ प्रतिशतले वृद्धि भएको छ ।

सार्वजनिक ऋण २०८१ असार मसान्तको तुलनामा ९.९ प्रतिशतले वृद्धि भएको छ । फागुनसम्म सङ्घीय सरकारको कुल राजस्व अघिल्लो आर्थिक वर्षको यसै अवधिको ६ खर्ब ३९ अर्व ५ करोड रुपैयाँको तुलनामा १२.७ प्रतिशतले बढेर ७ खर्ब २० अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

यस्तै फागुनसम्म सङ्घीय सरकारको कुल खर्च गएको आर्थिक वर्षको यसै अवधिको ८ खर्ब १ अर्ब ५८ करोड रुपैयाँको तुलनामा ४.९४ प्रतिशतले बढेर ८ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

कुल खर्चमध्ये चालु खर्च ६९.६ प्रतिशत, पुँजीगत खर्च ९.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २०.६ प्रतिशत रहेको मन्त्रालयको बुलेटिनमा उल्लेख छ । व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या बढेसँगै करको दायरा विस्तार भएको छ ।

चालू आर्थिक वर्षको फागुनसम्म वैदेशिक सहायता प्रतिबद्धता गएको आर्थिक वर्षको यसै अवधिको तुलनामा बढेर २ खर्ब २१ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारमा नयाँ श्रम स्वीकृति लिई जाने कामदार तथा पुनः श्रमस्वीकृती लिने कामदारको सङ्ख्यासमेत गएको वर्षको तुलनामा बढेको छ । रेमिट्यान्स र पर्यटक आवागमन पनि बढेको मन्त्रालयको बुलेटिनमा उल्लेख छ ।

यस्तै विदेशी मुद्रा सञ्चिति बढेको छ भने चालू खाता र शोधनान्तर स्थिति दुवै बचतमा छन् । अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ छन् भने आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको र समग्रमा अर्थतन्त्रले गति लिएको अर्थमन्त्रालयको दाबी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *