Date

सोम, बैशाख २२, २०८२
Mon, May 5, 2025

जीवन बीमा व्यापारमा उत्साहजनक वृद्धि, राष्ट्रिय जीवन बीमा कम्पनी सबैभन्दा अगाडि

जीवन बीमा व्यापारमा उत्साहजनक वृद्धि, राष्ट्रिय जीवन बीमा कम्पनी सबैभन्दा अगाडि

काठमाडाैं, २२ वैशाख । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामा जीवन बीमा कम्पनीहरूको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार देशभरका जीवन बीमा कम्पनीहरूले १ खर्ब २६ अर्ब १८ करोड १३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।

यो रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा १४.६२ प्रतिशतले बढी हो। गत वर्ष सो अवधिमा बीमा कम्पनीहरूले १ खर्ब १० अर्ब ८ करोड २७ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए।

जीवन बीमा व्यवसायमा हाल १ करोड ३५ लाख ३९ हजार ५१० वटा सक्रिय बीमालेखहरू रहेका छन्। समग्र रूपमा सबै बीमा कम्पनीहरूको व्यापारमा वृद्धि देखिएको छ। व्यापार वृद्धिको पहिलो सूचीमा राष्ट्रिय जीवन बीमा कम्पनी रहँदा, कम्पनीले आफ्नो व्यापार ४९.२५ प्रतिशतले बढाउँदै ८ अर्ब १६ करोड ३५ लाख रुपैयाँ पुर्याएको छ।

दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ, जसले १५ अर्ब ६४ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २१.२५ प्रतिशत वृद्धि हो।

त्यस्तै, नेपाल लाइफ कम्पनीको व्यापार ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जुन समग्र बजारको २६.१६ प्रतिशत हिस्सा हो। यद्यपि कम्पनीको व्यापार वृद्धिदर १२.१० प्रतिशतमा सीमित भएको देखिन्छ।

एलआईसी नेपाल (LIC Nepal) ले आफ्नो व्यापार ९.३६ प्रतिशतले बढाउँदै १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ पुर्याएको छ। हिमालयन लाइफ ले भने २.१६ प्रतिशतले व्यापार बढाउँदै १२ अर्ब ५९ करोड ६९ लाख रुपैयाँको व्यापार गरेको छ। रिलायवल नेपालले समिक्षा अवधिमा २३.७५ प्रतिशतले व्यापार वृद्धि गर्न सफल भएको छ भने प्रभू महालक्ष्मी लाइफको व्यापार १९.९५ प्रतिशतले बढेको छ। त्यस्तै, सिटिजन लाइफले १९.८४ प्रतिशत, सूर्य ज्योति लाइफले १७.३३ प्रतिशत, र आईएमई लाइफले १४.६४ प्रतिशतको व्यापार वृद्धिदर कायम गरेका छन्। त्यसैगरी, सानिमा रिलायन्सले १३.३२ प्रतिशत, एशियन लाइफले ११.६५ प्रतिशत, सन नेपालले १०.६२ प्रतिशत र मेट लाइफले ७.५२ प्रतिशतको वृद्धिदर देखाएका छन्। यी सबै कम्पनीहरूले दोहोरो अंकको व्यापार वृद्धिदर कायम गर्दै जीवन बीमा क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाएका छन्।

समिक्षा अवधिमा कम्पनीहरूले ९९ अर्ब ५५ करोड ७ लाख रुपैयाँ नविकरण बीमा शुल्कमार्फत आर्जन गरेका छन्। यसका साथै, नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) मा पनि उल्लेख्य वृद्धि देखिएको छ। यो रकम २४ अर्ब ४० करोड १ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.६८ प्रतिशत बढी हो। अघिल्लो वर्ष यो रकम २१ अर्ब ४६ करोड २७ लाख रुपैयाँ थियो।

वैदेशिक रोजगार बीमा मार्फत पनि कम्पनीहरूले २ अर्ब २३ करोड ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्, जसले बीमा व्यवसायको विविधीकरणलाई देखाउँछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *