निर्जीवन बीमा कम्पनीहरुको व्यापारमा सीमित तर स्थिर वृद्धिदर, ओरियण्टल, नेपाल इन्स्योरेन्स र एनएलजी अगाडि

काठमाडाैं, २२ वैशाख । चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म आइपुग्दा निर्जीवन बीमा कम्पनीहरुको समग्र व्यापार ७.११ प्रतिशतले बढेको देखिएको छ। नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार, समिक्षा अवधिमा १५ वटा निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब १२ करोड ९९ लाख ७५ हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ रहेको थियो।
व्यापारको आकारका हिसाबले शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले समिक्षा अवधिमा ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै २.८४ प्रतिशतको वृद्धिदर देखाएको छ। दोस्रो स्थानमा सलिको (सगरमाथा लुम्बिनी) रहेको छ, जसले ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दै ५.८४ प्रतिशत वृद्धि गरेको छ। तेस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ जसको व्यापार ७.४५ प्रतिशतले बढेर ३ अर्ब १० करोड ५८ लाख रुपैयाँ पुगेको छ।
वृद्धिदरको हिसाबले ओरियण्टल इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले ४१.९१ प्रतिशतले व्यापार वृद्धि गर्दै २ अर्ब १५ करोड ४६ लाख रुपैयाँको कारोबार गरेको छ। दोस्रोमा नेपाल इन्स्योरेन्सले ३६.०९ प्रतिशतको वृद्धि गरी १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ पुर्याएको छ। एनएलजी इन्स्योरेन्सले पनि राम्रो प्रदर्शन गर्दै १६.४१ प्रतिशतको वृद्धि गरी २ अर्ब १३ करोड ४५ लाख रुपैयाँको व्यापार गरेको छ।
अन्य कम्पनीहरुको वृद्धिदर हेर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९.२८ प्रतिशत, सानिमा जिआइसीको ७.८४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ३.५८ प्रतिशत, नेको इन्स्योरेन्सको ३.२५ प्रतिशत र नेशनल इन्स्योरेन्सको ०.६२ प्रतिशतको वृद्धिदर देखिन्छ।
यता, तीन कम्पनीको व्यापारमा भने गिरावट देखिएको छ। राष्ट्रिय बीमा कम्पनीको व्यापार १३.३ प्रतिशतले घटेर १ अर्ब १३ करोड २६ लाख रुपैयाँमा झरेको छ। युनाइटेड अजोड इन्स्योरेन्सको व्यापार ६.२४ प्रतिशतले घटेर १ अर्ब ८५ करोड ४९ लाख रुपैयाँमा पुगेको छ भने प्रभू इन्स्योरेन्सको व्यापार १.३१ प्रतिशतले घटेर १ अर्ब ३० करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ।
बीमालेखको संख्या पनि घटेको देखिन्छ। समिक्षा अवधिमा २१ लाख ३५ हजार २३३ निर्जीवन बीमालेख सक्रिय रहेका छन् भने अघिल्लो वर्ष सोही अवधिमा यो संख्या २१ लाख ९३ हजार ५४७ रहेको थियो।