फ्रान्सेली व्यवसायीलाई नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न आईपीपीएएन अध्यक्ष कार्कीको आह्वान

काठमाडाैं, १ जेष्ठ । नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघ (आईपीपीएएन) का अध्यक्ष गणेश कार्कीले फ्रान्सका व्यवसायीहरूलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
हालै फ्रान्सको राजधानी पेरिसमा आयोजित ‘फ्रान्स-नेपाल जलविद्युत् लगानी सम्मेलन’ लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा ऊर्जा माग तीव्र रूपमा बढिरहेको बताउँदै नेपालमा जलविद्युत् उत्पादनले यस क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्ने धारणा राखे।
उनले १९९९ अघि नेपालको कुल जलविद्युत् उत्पादन क्षमता २५० मेगावाट रहेको र पछिल्लो २५ वर्षमा यो क्षमता बढेर ३,५०० मेगावाट पुगेको तथ्यांक प्रस्तुत गर्दै यसमा निजी क्षेत्रको योगदान अहम रहेको स्मरण गराए।
कार्कीले फ्रान्सले नेपालको त्रिशूली नदीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् परियोजनामा ४५३ मिलियन अमेरिकी डलरको आर्थिक सहयोग गरेको जानकारी दिए। उक्त सहयोग अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) मार्फत उपलब्ध गराइएको थियो।
“यो परियोजना सम्पन्न भएपछि नेपालको विद्युत् आपूर्तिमा महत्वपूर्ण योगदान पुर्याउनेछ,” उनले बताए।
नेपाल सरकारले सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको जानकारी दिँदै कार्कीले यसमध्ये १५,००० मेगावाट विद्युत् निर्यात गरिने र बाँकी १३,५०० मेगावाटलाई देशभित्र खपत गरिने योजना रहेको बताए।
उनले नेपालमा जलविद्युत् बाहेक बीमा, बैंकिङ, निर्माण, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा पनि विदेशी लगानीलाई स्वागत गर्ने स्पष्ट पारे।
“नेपालले आगामी दिनमा ऊर्जा क्षेत्रमा विदेशी लगानीकर्तालाई थप अवसर प्रदान गर्न चाहन्छ। त्यसैले, फ्रान्सेली व्यवसायीहरूले जलविद्युत् क्षेत्रमा लगानी गर्न उपयुक्त समय यही हो,” उनले जोड दिए।