नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा: सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश

काठमाडाैं, १ जेष्ठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको ३८८औं बैठकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ रहेको छ। उक्त आधारमा सेयरधनीहरूले १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ बराबरको लाभांश प्राप्त गर्नेछन्।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भई सेयरधनीहरूलाई वितरण गरिनेछ।
यसअघि, आर्थिक वर्ष २०७९/८० मा कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले २५औं वार्षिक साधारण सभामा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई नयाँ उचाइमा पुर्याउन संरचनात्मक सुधार, संस्थागत सुशासन, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
२०८१ असोज मसान्तसम्ममा कम्पनीको लगानी २१५ अर्ब रुपैयाँ, जीवन बीमाकोष २०८ अर्ब रुपैयाँ र सेयरधनी कोष १२ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीले देशभर १९५ शाखा कार्यालयहरू मार्फत जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आएको छ।
सेयरधनीहरूले बोनस सेयर प्राप्त गर्नका लागि बोनस सेयरमा लाग्ने कर रकम भुक्तानी गर्नुपर्नेछ। कम्पनीले कर रकम भुक्तानीका लागि आवश्यक प्रक्रिया र समयसीमा सम्बन्धी जानकारी आगामी दिनहरूमा सार्वजनिक गर्नेछ।