नेप्सेका कार्यकारी अधिकृतसँग नेपाल शेयर बजार लगानीकर्ता संघका पदाधिकारीहरूको भेट

काठमाडौं, ३ जेष्ठ । नेपाल शेयर बजार लगानीकर्ता संघका पदाधिकारीहरूले नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत चूडामणि चापागाईंसँग परिचयात्मक भेटघाट गरेका छन्।
भेटघाटको अवसरमा संघले एक औपचारिक पत्र प्रस्तुत गर्दै आफ्नो स्थापना, उद्देश्य र भविष्यका योजनाबारे जानकारी गराएको छ । पत्रमा पुँजीबजारलाई व्यवस्थित, गतिशील, पारदर्शी र आयामिक बनाई समृद्ध अर्थतन्त्र निर्माणमा संघले महत्वपूर्ण योगदान पुर्याउन चाहेको उल्लेख छ। यसका लागि संघले नेप्सेसँग निरन्तर संवाद र छलफलको अपेक्षा राखेको छ।
नेप्सेका कार्यकारी अधिकृत चापागाईंले वर्तमान बजारको चित्रण गर्दै सुदृढ पुँजीबजार निर्माणमा शेयरबजार लगानीकर्ता संघको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले सबै लगानीकर्ताको हितलाई ध्यानमा राखी काम गर्न संघलाई शुभकामना दिए ।
यसैगरी, नेप्सेका प्रवक्ता मुरारी पराजुलीले पनि बधाई र शुभकामना व्यक्त गर्दै सुदृढ पुँजीबजार निर्माणमा सबैको सकारात्मक भूमिका आवश्यक रहेको बताए ।
कार्यक्रममा संघका संस्थापक महासचिव रविन कँडेलले नेप्सेमा व्यापक सुधार र समयसापेक्ष परिवर्तनको अपेक्षा राखेको बताए । वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, सचिव भुवन ढकाल, प्रवक्ता धनन्जय पौडेल, सदस्य मिना भट्ट, विवेक श्रेष्ठ र सुदर्शन गौतमलगायतका पदाधिकारीहरूले पनि भेटघाटमा उपस्थिति जनाई पुँजीबजारको विकास, लगानीकर्ताको हकहित र बजार सुधारका लागि आवश्यक कदमहरूबारे आफ्ना विचार राखेका थिए ।
यो भेटघाटले पुँजीबजारको सुदृढीकरण र लगानीकर्ताको हितमा सकारात्मक सहकार्यको आधार तयार गरेको छ । नेपाल शेयरबजार लगानीकर्ता संघ र नेप्सेबीचको यो पहलले भविष्यमा बजारलाई थप विश्वसनीय र समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।