नयाँ शक्तिले लिपुलेक नाका भारत–चीन सञ्चालनविरुद्ध आपत्ति जनाएको

काठमाडाैं, ६ भदाै । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले भारत र चीनबीच भदौ ३ गते लिपुलेक नाका व्यापार प्रयोजनका लागि सञ्चालन गर्ने निर्णयविरुद्ध गम्भीर आपत्ति जनाएको छ। शुक्रबार जारी विज्ञप्तिमा पार्टीले नेपाल सरकारको पूर्वसहमति बिना गरिएको एकपक्षीय निर्णयलाई अस्वीकार गरेको बताएको छ।
पार्टीले भनेको छ, सन् २०१५ मा भारत–चीनबीच भएको सहमतिपछि पनि नेपाल सरकारले कूटनीतिक रूपमा आपत्ति प्रकट गरेको भएपनि, अहिलेको कदम नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति गम्भीर उपेक्षा र अपमान भएको प्रमाण हो। नयाँ शक्तिले यसलाई छिमेकी मुलुकहरूको हेपाहा प्रवृत्तिको प्रतिबिम्बका रूपमा समेत हेरेको छ।
विज्ञप्तिमा नेपाल सरकारको कूटनीतिक सक्रियतामा देखिएको कमजोरीले सीमा र राष्ट्रिय हितको संवेदनशील प्रश्नलाई जटिल बनाएको ठहर गरिएको छ। पार्टीले सीमा विवाद तथा संवेदनशील कूटनीतिक विषयहरूको समाधानका लागि प्रभावकारी, सशक्त र परिणाममुखी पहल गर्नुपर्ने जोड दिएको छ।
नयाँ शक्तिको धारणा छ कि, भारत–चीन–नेपालबीच समानता, आपसी सम्मान र विश्वासमा आधारित त्रिदेशीय सहकार्यको ढाँचा निर्माण गर्नु आवश्यक छ, जसले नेपालको राष्ट्रिय स्वार्थलाई सुरक्षित राख्नेछ।