नेपालले भारतलाई थप ८० मेगावाट बिजुली निर्यात गर्ने

काठमाडाैं, ६ भदाै । नेपालले थप ८० मेगावाट बिजुली भारतमा निर्यात गर्न सहमति पाएको छ। भारत सरकारले नेपालका मेवाखोला (४८.५ मेगावाट) र करुवासेती (३१.०४ मेगावाट) जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खरिद गर्न अनुमति प्रदान गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार, वाइल्याटरल सम्झौताअन्तर्गत मध्यम अवधिका लागि अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म लागु हुनेछ। यसअघि भारतले नेपालबाट १ हजार १०.९ मेगावाट बिजुली खरिद गर्न अनुमति दिएको थियो। थप ८० मेगावाट अनुमति पश्चात कुल निर्यात क्षमता भारततर्फ १ हजार ९०.९ मेगावाट पुगेको छ।
नेपालले वर्षायाममा आफ्नै उत्पादन बिक्री गर्ने र सुख्खायाममा भारतसँगै विद्युत खरिद गर्ने गरेको छ। यसका साथै, नेपालले बंगलादेशलाई पनि ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ। यसरी कुल स्वीकृत निर्यात क्षमता ११ सय ३०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।