बैंकिङ क्षेत्रको कुल सम्पत्ति ७७ खर्ब ७६ अर्ब पुग्यो, वृद्धि दर १२.७४ प्रतिशत

काठमाडाैं, ६ भदाै । नेपालका वाणिज्य बैंकहरुको कुल सम्पत्ति लगातार वृद्धि हुँदै गएको छ। गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकहरुको सम्पत्ति एक वर्षमै ८ खर्ब ७९ अर्ब रुपैयाँ बढेर हाल ७७ खर्ब ७६ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.७४ प्रतिशत बढी हो।
संचालनमा रहेका बैंकमध्ये एनआइसी एशिया बाहेक सबै बैंकको सम्पत्ति वृद्धि भएको छ। सम्पत्तिको आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा धनी रहेको छ। बैंकसँग ६ खर्ब ८९ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ बराबरको सम्पत्ति छ, जुन एक वर्षमा १४.१० प्रतिशतले बढेको हो।
सर्वाधिक नाफा कमाएको नबिल बैंक सम्पत्तिको आधारमा दोस्रो स्थानमा रहेको छ। यसको कुल सम्पत्ति ६ खर्ब ८१ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.५७ प्रतिशतले वृद्धि भएको हो। तेस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंकको सम्पत्ति ५ खर्ब ८५ अर्ब २५ करोड ७३ लाख रुपैयाँ पुगेको छ, १४.९४ प्रतिशत वृद्धि भएको देखिन्छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक चौथो ठुलो बैंक हो, जसको सम्पत्ति ५ खर्ब ६५ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ पुगेको छ। धनी बैंकको सूचीमा ग्लोबल, नबिल, एनआइएमबि, राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी सनराइज रहेका छन्। लक्ष्मी सनराइज बैंकको सम्पत्ति ४ खर्ब ४३ अर्ब ७० करोड रहेको छ भने छैटौंमा कुमारी बैंक ४ खर्ब ४२ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ बराबरको सम्पत्ति लिएर छ।
सातौं स्थानमा प्रभू बैंक रहेको छ, जसको सम्पत्ति ४ खर्ब १० अर्ब ६७ करोड रुपैयाँ छ। अन्य बैंकहरुमा नेपाल बैंक ३ खर्ब ९९ अर्ब ३२ करोड, एनआइसी एशिया ३ खर्ब ७८ अर्ब ७६ करोड, हिमालयन ३ खर्ब ७२ अर्ब ९४ करोड, एभरेष्ट ३ खर्ब ६५ अर्ब २० करोड, कृषि विकास ३ खर्ब ६२ अर्ब ५० करोड, एनएमबि ३ खर्ब ५२ अर्ब १० करोड, सिद्धार्थ ३ खर्ब ३८ अर्ब ७८ करोड, प्राइम ३ खर्ब १७ अर्ब १४ करोड रहेको छ।
साना र मझौला बैंकहरूमध्ये सानिमा बैंकको सम्पत्ति २ खर्ब ६३ अर्ब ४४ करोड, सिटिजन्स २ खर्ब ४५ अर्ब ३७ करोड, नेपाल एसबिआई २ खर्ब ३२ अर्ब ७५ करोड, माछापुच्छ्रे २ खर्ब १७ अर्ब ६० करोड र स्ट्याण्डर्ड चार्टर्ड १ खर्ब ५५ अर्ब २० करोड रुपैयाँ पुगेको छ।