सगरमाथा संवादका विदेशी अतिथिलाई हिमालय अवलोकनका लागि विशेष हवाई उडान

काठमाडाैं, ४ जेष्ठ । ‘सगरमाथा संवाद’ कार्यक्रममा सहभागी विदेशी अतिथिहरूलाई हिमालय क्षेत्रको अवलोकन गराउन विशेष पर्वतीय उडानको आयोजना गरिएको छ। उक्त उडानको नेतृत्व वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले गरेका हुन्।
परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको समन्वयमा आयोजित यस पर्वतीय उडानमा सहभागी विदेशी अतिथिहरूले सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरलगायतका हिमशृंखलाको नजिकबाट अवलोकन गर्ने अवसर पाए। झण्डै एक घण्टा लामो यो उडानमा हिमालय पर्वतहरूको मनोरम दृश्यावलोकन गराइएको थियो।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीका अनुसार विदेशी पाहुनालाई हिमालय क्षेत्रको सौन्दर्य देखाउने उद्देश्यले यो उडान आयोजना गरिएको हो। उनले भने, “हिमालको रोमाञ्चक अनुभवले नेपालका साहसिक पर्यटन गन्तव्यलाई प्रवर्द्धन गर्न सहयोग पुग्नेछ।”
‘सगरमाथा संवाद’ नेपालले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम हो। यसका सहभागीहरूले नेपालका सांस्कृतिक, प्राकृतिक र पर्यावरणीय विविधता नजिकबाट अवलोकन गर्ने अवसर पाएका छन्।