प्रतिनिधि सभामा आज तीन विधेयक प्रस्तुत हुँदै, नागरिक उड्डयन र स्वास्थ्य विश्वविद्यालय विधेयक छलफलको केन्द्रमा

काठमाडाैं, ४ जेष्ठ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा तीन महत्त्वपूर्ण विधेयक प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल विमान सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। यी दुवै विधेयक नेपालको उड्डयन क्षेत्रको सुधार, नियमन र व्यवस्थापनलाई केन्द्रमा राखेर तयार पारिएका हुन्।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि छलफलका लागि प्रस्ताव पेस गर्ने छन्। यो विधेयक राष्ट्रिय सभाबाट पारित भइसकेको र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यससम्बन्धी प्रतिवेदनसमेत पेस गरिसकेको छ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ लाई छलफलपछि पारित गर्ने कार्यसूची पनि बैठकमा समावेश गरिएको छ।
यी विधेयकहरू पारित भएसँगै उड्डयन क्षेत्रको सेवा सुधार, स्वास्थ्य शिक्षा प्रणालीमा संरचनात्मक सुधार र नयाँ स्वास्थ्य विश्वविद्यालयको स्थापना मार्ग प्रशस्त हुनेछ।