राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्ने, २१ दिनको निक्षेप संकलनको बोलकबोल आजै

काठमाडाैं, ७ जेष्ठ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि आज (जेठ ७ गते) ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ।
राष्ट्र बैंकले यो रकम २१ दिनको अवधिका लागि बोलकबोलमार्फत संकलन गर्न लागेको हो। यसका लागि आजै मध्यान्ह ३ बजे बोलकबोलको समय तोकिएको छ।
राष्ट्र बैंकका अनुसार, बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँको गुणात्मक भागमा प्रस्ताव पेश गर्न सक्नेछन्। बोलकबोलमार्फत तोकिने ब्याजदरमै निक्षेप संकलन हुनेछ, र बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिने व्यवस्था पनि गरिएको छ।
यो निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। संकलन गरिएको निक्षेपको सावाँ तथा ब्याज जेठ २८ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।