अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर डा. विश्व पौडेलबीच भेटवार्ता, समन्वयात्मक आर्थिक मार्गचित्रमा जोड

काठमाडाैं, ७ जेष्ठ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलबीच बुधबार बिहान अर्थ मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ।
भेटका अवसरमा अर्थमन्त्री पौडेलले गभर्नर डा. पौडेललाई पदभार ग्रहणको हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, वित्तीय र मौद्रिक नीतिबीच सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
उनले देशको हालको आर्थिक अवस्थालाई सन्तुलनमा ल्याउन अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच सहकार्य अत्यावश्यक रहेको भन्दै, गभर्नर डा. पौडेलले मौद्रिक क्षेत्रका चुनौती समाधानमा ठोस पहल गर्ने विश्वास व्यक्त गरे।
नवनियुक्त गभर्नर डा. पौडेलले अर्थ मन्त्रालयले देशको समग्र आर्थिक नेतृत्व गर्ने, जबकि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सो नीति कार्यान्वयनमा सहयोग पुर्याउने स्पष्ट पारे। उनले वित्तीय क्षेत्रको प्रभावकारिता वृद्धि गर्न राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा बल दिने बताए।
भेटका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतका उच्च अधिकारीहरूले गभर्नर डा. पौडेललाई बधाई तथा शुभकामना दिएका थिए।