डा. विश्व पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नरको रूपमा पदभार ग्रहण गरे, मौद्रिक नीति र सुपरिवेक्षण क्षमतालाई प्राथमिकता

काठमाडाैं, ७ जेष्ठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। उनले राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बलुवाटार पुगेर कार्यभार सम्हालेका हुन्।
पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै गभर्नर पौडेलले आफ्नो कार्यकालमा दुई प्रमुख क्षेत्रलाई प्राथमिकता दिने स्पष्ट पारे। उनले भने, “पहिलो, सरकारले ल्याउने बजेट कार्यान्वयनमा सहयोग पुर्याउने गरी मौद्रिक नीति निर्माण गर्नेछौं। दोस्रो, राष्ट्र बैंकको सुपरिवेक्षण क्षमतालाई अझ सशक्त बनाउनेछौं।”
यसअघि, मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशबाट शपथ लिएपछि मात्र गभर्नरले पदभार सम्हाल्न पाउने व्यवस्था अनुसार पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।
डा. पौडेलको नियुक्ति पछिल्लो समयको राजनीतिक सहमति र उच्चस्तरीय छनोट समितिको सिफारिसका आधारमा गरिएको हो। अब उनले नेपाल राष्ट्र बैंकको नेतृत्व सम्हाल्दै मुलुकको मौद्रिक नीति, वित्तीय स्थायित्व र बैंकिङ क्षेत्रको सुधारतर्फ रणनीतिक दिशा तय गर्नुपर्नेछ।