Date

बुध, जेष्ठ ७, २०८२
Wed, May 21, 2025

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहणसँगै पाँच सय र हजारका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहणसँगै पाँच सय र हजारका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर

काठमाडाैं, ७ जेष्ठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार पदभार ग्रहण गर्दै पहिलो निर्णयका रूपमा ५ सय र १ हजार दरका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। उनले आज बिहान राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बलुवाटारमा पुगेर गभर्नरको जिम्मेवारी सम्हालेका हुन्।

पदभार ग्रहणपछिको पहिलो सम्बोधनमा गभर्नर पौडेलले मौद्रिक नीति र वित्त नीति स्वतन्त्र विषय भएको प्रस्ट पारे। उनले भने, “मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन। यो स्वतन्त्र नीति हो, तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध पुगेको देखिएमा त्यसलाई परिमार्जन गर्दै जानेछौं।”

नयाँ नोट छपाइको निर्णय

गभर्नरको रूपमा आफ्नो पहिलो कार्यदिवसमा नै पाँच सय र एक हजार दरका नोटको नयाँ संस्करण छपाइका लागि औपचारिक प्रक्रिया सुरु गर्ने निर्णयमा उनले हस्ताक्षर गरे। राष्ट्र बैंक स्रोतका अनुसार, यो निर्णय पुराना नोटहरूको अवस्था, सुरक्षात्मक तत्व, र प्राविधिक कारणका आधारमा गरिएको हो।

गुणाकर भट्टको राजीनामा आन्तरिक विषय

गभर्नर पदका आकांक्षीमध्ये एक राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पद नपाएपछि राजीनामा दिएका थिए। उक्त विषयमा गभर्नर पौडेलले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “यो आन्तरिक व्यवस्थापनसँग सम्बन्धित विषय हो।”

डा. पौडेलको नेतृत्वमा अब राष्ट्र बैंकले मौद्रिक स्थायित्व, वित्तीय सुपरिवेक्षण सुधार, मुद्रास्फीति नियन्त्रण, र बैंकिङ प्रणालीको सुदृढीकरणमा ध्यान दिने अपेक्षा गरिएको छ। उनले पदभार ग्रहणसँगै देखाएको सक्रियता र स्वतन्त्र मौद्रिक नीतिको पक्षपोषणले आगामी दिनमा राष्ट्र बैंकको नीति निर्माणमा व्यावसायिकता र पारदर्शिता बढ्ने संकेत दिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *