पहिलो पटक नेपाली भाषाको डोमेनयुक्त वेबसाइट सार्वजनिक गर्दै युए ह्याकाथन सम्पन्न

काठमाडाैं, ७ जेष्ठ । नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गर्दै युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन नेपाल २०२५ सम्पन्न भएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र अन्तर्राष्ट्रिय संस्था आईक्यान को सहकार्यमा काठमाडौंमा आयोजना गरिएको ‘यूए ह्याकाथन नेपाल २०२५’ कार्यक्रमले इन्टरनेट पहुँचमा समावेशिता र नेपाली भाषाको प्रवर्द्धनमा ऐतिहासिक पाइला चालेको हो ।
कार्यक्रममा सार्वजनिक गरिएको ‘क्यान.संगठन’ वेबसाइटलाई डोमेन नेम सिस्टममा नेपाली भाषाको औपचारिक उपस्थितिको सुरुवातका रूपमा लिइएको छ । यसले सरकारी र सार्वजनिक सेवामा नेपाली भाषाको प्रयोगलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
युनिभर्सल एक्सेप्टेन्सको अवधारणा अनुसार कुनै पनि प्रणालीले स्थानीय भाषामा लेखिएको डोमेन र ईमेल ठेगाना स्वीकार गर्नुपर्ने हुन्छ । यस्तो प्रणालीलाई ‘यूए-रेडी’ भनिन्छ । यसले स्थानीय भाषाभाषीहरूलाई इन्टरनेट सेवामा जोड्न मद्दत गर्नेछ ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले नेपाली डोमेनको प्रयोगले भाषा, पहिचान र पहुँचको संरक्षण हुने उल्लेख गर्दै यो कदमले डिजिटल नेपाल निर्माणमा समेत योगदान दिने विश्वास व्यक्त गरिन् । उनले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, एआई नीति अन्तिम चरणमा पुगेको र साइबर सुरक्षा विधेयक संसदमा दर्ता हुने क्रममा रहेको जानकारी दिइन् ।
सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले अंग्रेजीमा दक्ष नभएका करिब ७० प्रतिशत नेपालीहरू अझै इन्टरनेट पहुँचबाट टाढा रहेको उल्लेख गर्दै, नेपाली भाषामा डोमेन तथा ईमेल ठेगाना उपलब्ध गराउनाले उनीहरूलाई डिजिटल सेवामा जोड्न मद्दत गर्ने बताए ।
कार्यक्रममा युनेस्को नेपालका प्रमुख जाको डु तोइतले युनिभर्सल एक्सेप्टेन्स युनेस्कोको बहुभाषिता सम्बन्धी सिफारिससँग मेल खाने र यसलाई नेपालमा लागू गर्न संस्था तयार रहेको जनाए ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यसलाई नेपाली भाषाको कम्प्युटिङ यात्रामा अर्को महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै अघिल्लो दशकमा गरिएका कामहरू जस्तै नेपाली भाषा स्ट्यान्डर्ड विकास र स्पेल चेकर निर्माणको स्मरण गरिन् ।
युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन नेपाल २०२५ मार्फत नेपाली भाषामा डोमेनयुक्त वेबसाइट सार्वजनिक हुनु ऐतिहासिक उपलब्धि भएको भएको क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले बताए ।
उनले भने, ‘यो केवल प्रविधिमा प्रगति मात्र होइन, हाम्रो मातृभाषालाई डिजिटल पहिचान दिलाउने महत्त्वपूर्ण कदम पनि हो। डोमेन र इमेलहरू अब नेपाली भाषामै सम्भव हुनु डिजिटल समावेशिता र भाषिक विविधताको सम्मान तर्फको दिशामा साहसी पहल हो ।’
कार्यक्रम सूचना प्रविधि विभाग, नेपाल सरकार; युनेस्को; एपीएनआईसी; नेपाल इन्टरनेट एक्सचेन्ज; वर्ल्डलिंक कम्युनिकेसन्स (इन्टरनेट पार्टनर); माभोरियन सिस्टम; हिकोल कलेज; र होरियन इन्टरेक्टिभ बोर्डको सहकार्य र सहयोगमा सम्पन्न भएको थियो । यस्ता बहुपक्षीय साझेदारीले कार्यक्रमको प्रभावकारिता र दीर्घकालीन सम्भावना दुबैमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक संस्थाले जनाएको छ ।
नेपाल इन्टरनेट एक्सचेन्जका सीईओ रुपेश श्रेष्ठले स्थानीय भाषा र सर्भरमार्फत डोमेन सञ्चालन गर्दा स्क्याम नियन्त्रण र प्रमाणिकता बढ्ने उल्लेख गरे