प्राकृतिक विपत्तिका बाबजुद जलविद्युत कम्पनीहरूको आम्दानी र नाफामा ऐतिहासिक वृद्धि, ९ महिनामै १ अर्ब ४४ करोड खुद नाफा

काठमाडाैं, ८ जेष्ठ । प्राकृतिक विपत्तिका चुनौतीका बीच समेत नेपालका जलविद्युत कम्पनीहरुले वित्तीय रुपमा उल्लेखनीय सफलता हासिल गरेका छन्। बाढी, पहिरो तथा अन्य विपत्तिले केही कम्पनीको संरचनामा क्षति पुर्याएको भए पनि विद्युत उत्पादन र बिक्रीमा भने ठूलो असर नपरेको देखिएको छ। यसको प्रत्यक्ष प्रभाव कम्पनीहरुको विद्युत बिक्री आम्दानी र नाफामा परेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत जलविद्युत कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ९ महिनामै १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्। जबकि, गत आर्थिक वर्षको सोही अवधिमा यिनै कम्पनीहरुले १ अर्ब ५ करोड २४ लाख रुपैयाँभन्दा बढी घाटा बेहोरेका थिए। यो सुधारको प्रमुख कारण कम्पनीहरुको विद्युत बिक्री आम्दानीमा देखिएको उल्लेखनीय वृद्धि हो।
उक्त अवधिमा जलविद्युत कम्पनीहरुले कुल २८ अर्ब ८१ करोड २६ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेका छन्। गत वर्ष सोही अवधिमा बिक्री २५ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ मात्र रहेको थियो। यसले ११.९९ प्रतिशतको आम्दानी वृद्धि देखाउँछ।
उत्पादनमा भएको निरन्तर बृद्धि, घट्दो बैंक ब्याजदर र खर्चमा अपनाइएको मितव्ययिताले कम्पनीहरूको नाफामा प्रत्यक्ष सकारात्मक असर परेको देखिन्छ। दीर्घकालीन विद्युत खरिद सम्झौतामा अनुकूल दर पाउनु र थप उत्पादन तथा बिक्री गर्न सक्नु पनि आम्दानी वृद्धिका कारण बनेका छन्।
नेप्सेमा सूचीकृत ७९ वटा जलविद्युत कम्पनीमध्ये ५४ कम्पनीले विद्युत बिक्री आम्दानीमा वृद्धि गरेका छन् भने २५ कम्पनीको आम्दानी घटेको देखिएको छ। केही कम्पनीहरुले चालु वर्षदेखि उत्पादन शुरु गरेका कारण पनि समग्र बिक्री आम्दानीको आकार बढेको हो।
सर्वाधिक बिक्री गर्ने कम्पनीहरू
सबैभन्दा धेरै बिजुली बिक्री गर्ने कम्पनी अपर तामाकोशी हाइड्रोपावर हो। कम्पनीले ४ अर्ब २७ करोड ८ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ। यद्यपि, गत वर्षको तुलनामा यो ३४.६० प्रतिशतले घटेको हो। गत वर्षको ९ महिनामा उक्त कम्पनीले ६ अर्ब ५३ करोड २ लाखको बिजुली बिक्री गरेको थियो। असोज महिनामा आएको बाढीपहिरोका कारण उत्पादन केही समय बन्द भएपछि यसको आम्दानीमा असर परेको हो।
सबैभन्दा धेरै नाफा कमाउने कम्पनी साहस उर्जा हो, जसले २ अर्ब १४ करोड ३५ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ। अन्य प्रमुख कम्पनीहरूमा सानिमा मिडल तमोर (१ अर्ब ३८ करोड ३ लाख), ग्रीन भेन्चर्स (१ अर्ब २८ करोड ६४ लाख) र अपि पावर कम्पनी (१ अर्ब १९ करोड ७० लाख) रहेका छन्।
उल्लेखनीय वृद्धि देखाउने कम्पनीहरू
बिजुली बिक्री आम्दानीमा सबैभन्दा उच्च वृद्धि ईङवा हाइड्रोपावरले देखाएको छ। कम्पनीको आम्दानी १०० गुणाले बढेर १९ करोड २६ लाख रुपैयाँ पुगेको छ। यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युतले ६०८.५७ प्रतिशत, अरुण कावेली पावरले ३३४.३५ प्रतिशत, रावा इनर्जीले २८९.९५ प्रतिशत, साञ्जेनले २८५.२७ प्रतिशत, त्रिशुलीले २८३.५७ प्रतिशत, पिपुल्स हाइड्रोपावरले २७७.३१ प्रतिशत, हिमालयनले २५८.५८ प्रतिशत, अरुण भ्यालीले २२८.२५ प्रतिशत र माया खोला जलविद्युतले १८४.४७ प्रतिशत वृद्धि गरेका छन्।
घटेको आम्दानी भएका कम्पनीहरू
तर, केही कम्पनीहरूको आम्दानीमा गिरावट आएको छ। मान्डु हाइड्रोपावर, खानीखोला, सुपर माई, सुपर मादी, अपर स्याङ्गे, भगवती, पञ्चकन्या माई, बलेफी, पिपुल्स पावर, सानिमा माइ, माई खोला लगायतका कम्पनीहरूको विद्युत बिक्री आम्दानी घटेको देखिएको छ।
त्यस्तै, रसुवागढी, भिसन लुम्बिनी, बरुण हाइड्रोपावर, मेन्छियाम, ग्रीन लाइफ लगायतका केही कम्पनीहरूले भने यो वर्षदेखि उत्पादन शुरु गरेर विद्युत बिक्रीबाट आम्दानी गर्न थालेका छन्।