सुनको मूल्य दुई दिनमै तोलामा ६ हजार ७ सयले बढ्यो, चाँदीको भाउ पनि उकालो

काठमाडाैं, ८ जेष्ठ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। पछिल्ला दुई दिनयता सुनको मूल्य निरन्तर रुपमा उकालो लागेको छ भने चाँदीको मूल्य पनि क्रमशः बढिरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो। त्यसको अघिल्लो दिन, मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो। यसरी हेर्दा दुई दिनमा सुनको भाउ प्रतितोला ६ हजार ७ सय रुपैयाँले बढेको छ।
बुधबार मात्रै सुनको भाउ प्रतितोला पाँच हजार रुपैयाँले बढेको थियो भने बिहीबार थप एक हजार सात सय रुपैयाँले मूल्य उक्लिएको हो।
यसैबीच, बिहीबार चाँदीको मूल्य पनि वृद्धि भएको देखिएको छ। महासंघका अनुसार चाँदीको भाउ प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन, बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९९० रुपैयाँ थियो। यसअनुसार एक दिनमै चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो।