Date

शुक्र, जेष्ठ ९, २०८२
Fri, May 23, 2025

आर्थिक सुस्तताको बीचमा राष्ट्र बैंकको मौद्रिक समीक्षा तयारी, नीति परिवर्तनको संकेत दिने अपेक्षा

आर्थिक सुस्तताको बीचमा राष्ट्र बैंकको मौद्रिक समीक्षा तयारी, नीति परिवर्तनको संकेत दिने अपेक्षा

काठमाडाैं, ८ जेष्ठ । मुलुकको समग्र अर्थतन्त्र सुस्त गतिमा अघि बढिरहेका बेला नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा तयारीमा जुटेको छ। लगानीकर्ताको आत्मविश्वास कमजोर हुँदै गएको र बजारमा निष्क्रियता बढिरहेको सन्दर्भमा मौद्रिक समीक्षाले कस्तो संकेत दिन्छ भन्नेमा व्यापक चासो देखिएको छ।

हाल बैंकिङ प्रणालीमा प्रशस्त मात्रामा लगानीयोग्य रकम (लिक्विडिटी) भए पनि लगानीको लय हराएको देखिन्छ। लगानीको प्रवाह घटेकै कारण कर्जाको माग पनि कमजोर रहेको र यसले मौद्रिक नीतिको प्रभावकारिता माथि प्रश्न उठाएको छ।

राष्ट्र बैंक जेठ १५ भित्र तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्न कानुनी बाध्यतामा रहेकाले हाल समष्टिगत आर्थिक सूचकहरूको गहिरो विश्लेषणमा केन्द्रित छ। समीक्षा मूलतः मूल्यांकनमुखी हुने भएकाले यसपटक पनि ठूला नीतिगत निर्णयको सम्भावना न्यून देखिन्छ।

आर्थिक सूचकहरू के भन्छन्?

राष्ट्र बैंक र भन्सार विभागले सार्वजनिक गरेका पछिल्ला तथ्यांकहरूका अनुसार, मुद्रास्फीति (उपभोक्ता मूल्य सूचकांकमा आधारित) वार्षिक विन्दुगत आधारमा ३.३९ प्रतिशत रहेको छ। आयात १२.२ प्रतिशत र निर्यात ६५.२ प्रतिशतले बढेको छ। भन्सार विभागले बैशाख मसान्तसम्मको विवरणमा आयातमा १३.११ प्रतिशत र निर्यातमा ७२.७१ प्रतिशतको वृद्धि देखाएको छ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १० प्रतिशत र अमेरिकी डलरमा ७.३ प्रतिशतले बढेको छ। शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले सकारात्मक रहँदा विदेशी विनिमय सञ्चिति १७ अर्ब ६३ करोड अमेरिकी डलर पुगेको छ, जुन भुक्तानी सन्तुलन र मुद्रा स्थायित्वका हिसाबले सकारात्मक सूचक हुन्।

तर, सरकारको खर्च र राजस्वबीचको खाडल भने अझै कायम छ। हालसम्म खर्च ९ खर्ब ९८ अर्ब नाघिसकेको छ भने राजस्व जम्मा ८ खर्ब ३१ अर्ब रुपैयाँमा सीमित छ। यो बजेट घाटाको दबाब अझै बढाउँदै लगेको छ।

बैंकिङ सूचकहरू पनि मिश्रित

मुद्राप्रदाय वार्षिक विन्दुगत आधारमा ११.६ प्रतिशतले बढेको छ भने बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ११.५ प्रतिशतले वृद्धि भएको छ। यता, निजी क्षेत्रमा प्रवाहित कर्जा भने केवल ८.३ प्रतिशतले मात्र बढेको छ, जसले अर्थतन्त्रको गति सुस्त भएको संकेत गर्दछ।

गभर्नर परिवर्तनपछि नयाँ अपेक्षा

यसैबीच, राष्ट्र बैंकको नेतृत्वमा नयाँ गभर्नर डा. विश्वनाथ पौडेल नियुक्त भएसँगै बजारमा नयाँ अपेक्षाको माहोल बनिरहेको छ। बुधबार मात्र पदभार सम्हालेका गभर्नर पौडेलका लागि छोटो अवधिमा ठूला नीतिगत निर्णय लिन सक्ने अवस्था नरहे पनि तेस्रो त्रैमासिक मौद्रिक समीक्षामार्फत भविष्यतर्फको संकेत दिने अवसर भने बन्न सक्छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *