नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

काठमाडौं, ८ जेष्ठ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेतीलाई नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरिएको छ। बुधबार एक औपचारिक कार्यक्रमका बीच उप्रेतीले राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
उप्रेतीले विश्रुत थापाको स्थान लिएका हुन्, जो यसअघि एनसीएचएलको सञ्चालक समितिको अध्यक्ष थिए। राष्ट्र बैंकमा लामो समयदेखि सेवा दिँदै आएका उप्रेतीको केन्द्रिय बैंकको विभिन्न विभागमा २७ वर्षभन्दा बढीको कार्यानुभव छ। उनी हाल राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको जिम्मेवारीमा कार्यरत छन्।
त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका उप्रेतीको भुक्तानी प्रणाली, वित्तीय पूर्वाधार र नियमनसम्बन्धी गहिरो ज्ञान र अनुभव रहेको छ। एनसीएचएलको अध्यक्षमा उनी नियुक्त हुनु नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त प्रवर्द्धनमा स्थापना गरिएको कम्पनी हो, जसको उद्देश्य राष्ट्रिय स्तरको भुक्तानी प्रणाली विकास गर्नु हो। एनसीएचएलको सञ्चालक समितिमा राष्ट्र बैंकसहित वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरूका प्रतिनिधिहरू रहेका छन्।
नयाँ नेतृत्वसहित एनसीएचएलले डिजिटल वित्तीय सेवा, रियल टाइम भुक्तानी प्रणाली (RPS), इन्टरबैंक पेमेंट सिस्टम (NCHL-IPS) र QR-आधारित भुक्तानी सेवाहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने अपेक्षा गरिएको छ।