भरतपुर विमानस्थलमा बुद्ध एयरको ७२ सिटे विमानको सफल परीक्षण उडान, नियमित उडानको बाटो खुल्यो

काठमाडौं, ८ जेष्ठ । बुद्ध एयरको ७२ सिटे एटीआर-७२ विमानले बिहीबार बिहान काठमाडौँदेखि भरतपुरसम्मको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। १,२०० मिटर लम्बाइको भरतपुर विमानस्थलको धावनमार्गमा विमानले सुरक्षित अवतरण गरेपछि अब नियमित उडानको बाटो खुल्ने सम्भावना बलियो बनेको छ।
यसअघि श्री एयरलाइन्सले ८० सिटे विमानमार्फत सफल परीक्षण उडान गरेपछि केही समय नियमित उडान सञ्चालन गरेको थियो। तर हाल श्री एयरलाइन्सले भरतपुरबाट नियमित उडान गरिरहेको छैन।
बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्त बहादुर बस्नेतले परीक्षण उडान सफल भएको पुष्टि गर्दै भने, “बुद्ध एयरका प्राविधिक, नागरिक उड्डयन प्राधिकरणका अधिकारी र अन्य विज्ञहरूको प्राविधिक अध्ययनपश्चात नियमित उडानको स्वीकृति दिइनेछ।”
उनका अनुसार विमानस्थल वरपरका घर र रुखका कारण अघिसम्म ठूलो क्षमताका विमान सञ्चालनमा समस्या आइरहेको थियो। त्यसैले ७२ सिटे विमानको उडान सम्भव भएको थिएन। हाल विमानस्थलको धावनमार्ग विस्तारको तयारीसमेत भइरहेको छ।
हाल बुद्ध एयरले भरतपुरबाट ४२ सिटे विमानमार्फत नियमित उडान सञ्चालन गरिरहेको छ। ७२ सिटे विमान सञ्चालनमा आएपछि टिकट भाडामा समेत कमी आउने अपेक्षा गरिएको छ। बस्नेतका अनुसार काठमाडौँदेखि भरतपुरतर्फ करिब ६० देखि ६२ यात्रु र फर्कने क्रममा ५० देखि ६० यात्रु सजिलै ल्याउनसक्ने क्षमता विमानमा रहेको छ।
हाल बुद्ध एयरको एटीआर–४२ विमानले काठमाडौँ–पोखरा र काठमाडौँ–भरतपुर रुटमा सेवा दिइरहेको छ। बुद्ध एयरले दैनिक ७ पटक काठमाडौँ–भरतपुर उडान र एकपटक भरतपुर–पोखरा उडान गर्दै आएको छ।
यद्यपि विमानको कुल क्षमता ४७ जना भए पनि धावनमार्गको लम्बाइ र उच्च तापक्रमका कारण पूरै क्षमतामा उडान गर्न नसकिने अवस्था रहेको छ। बुद्ध एयरले विगत २० वर्षदेखि काठमाडौँ–भरतपुर रुटमा नियमित उडान सञ्चालन गर्दै आएको छ। अब ७२ सिटे विमान सञ्चालनमा आएसँगै भरतपुरको हवाइ सेवा अझ प्रभावकारी हुने विश्वास लिइएको छ।