परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जापान भ्रमण सम्पन्न, सम्बन्ध विस्तारमा केन्द्रित छलफल

काठमाडाैं, ११ जेष्ठ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पाँचदिने जापान भ्रमणलाई ‘फलदायी’ भएको बताएकी छन्। शनिबार राति स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले आफ्नो भ्रमणले नेपाल–जापान सम्बन्ध अझ सुदृढ गर्न र विकास क्षेत्रमा सहकार्य विस्तार गर्न सघाएको जानकारी दिइन्।
डा. राणाले जापान भ्रमणको क्रममा जापानी परराष्ट्रमन्त्री इवाया ताकेशीसहित उच्च अधिकारीहरूसँग विभिन्न महत्वपूर्ण भेटघाट र छलफल गरेको जनाइन्। उनले भनिन्, “यो भ्रमणको क्रममा नेपाल–जापान सम्बन्ध, चलिरहेका सहकार्य र भविष्यका परियोजनाहरूका विषयमा छलफल भयो। साथै जापानले ज्येष्ठ नागरिकहरूका लागि कार्यान्वयन गरिरहेको नीति र कल्याणकारी प्रणालीबारे बुझ्ने अवसर पनि मिल्यो।”
बिहीबार डा. राणाले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) का अध्यक्ष डा. तनाका अकिहिकोसँग भेट गर्दै नेपालमा जाइकाद्वारा वित्तपोषित परियोजनाहरूको समयमै कार्यान्वयन र सम्पन्नताका लागि सहकार्यलाई तीव्रता दिने कुरामा जोड दिएकी थिइन्। उनले नेपालका आर्थिक तथा सामाजिक विकास प्रयासहरूमा जापानको लामो समयदेखि रहँदै आएको सहयोगका लागि आभार प्रकट गरिन्।
गत साता काठमाडौंमा सम्पन्न “सगरमाथा संवाद” को अवसरमा जापानका संसदीय उपविदेशमन्त्री इकुइना आकिकोले डा. राणासँग शिष्टाचार भेट गरेकी थिइन्। डा. राणाले आकिकोको सक्रिय सहभागिताका लागि प्रशंसा व्यक्त गरेकी थिइन्।
जापान बसाइँका क्रममा मन्त्री राणाले टोकियोमा आयोजित अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनलाई समेत सम्बोधन गर्दै नेपालको नीतिगत प्रयास र चुनौतिहरूबारे जानकारी गराएकी थिइन्।