नेपाली कांग्रेस अध्यक्ष शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाए, गृहमन्त्रीसम्बन्धी विवाद मुख्य एजेन्डा

काठमाडाैं, ११ जेष्ठ । नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले सोमबार बिहान ९ बजेका लागि पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन्। नेपाली कांग्रेसका उपमहासचिव जीवन परियारका अनुसार बैठक देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरू र मंगलबारदेखि सुरु हुने संसद्को अधिवेशनका एजेन्डाहरूको तयारीबारे छलफल हुने जनाइएको छ। खासगरी पछिल्लो समय चर्चामा रहेको गृहमन्त्री रमेश लेखकमाथिको विवाद बैठकको मुख्य मुद्दा बन्ने अपेक्षा गरिएको छ।
स्मरण रहोस्, गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई भिजिट भिसा प्रकरणमा पक्राउ परेपछि गृहमन्त्री लेखकमाथि चर्को आलोचना हुँदै आएको छ। लेखकमाथि उनी नेतृत्व गरेको सचिवालयकै संलग्नता र कमजोरीको आरोप लाग्दै आएको छ, जसका कारण उनको राजीनामाको माग समेत तीव्र बनेको छ।