Date

शनि, असार ७, २०८२
Sat, June 21, 2025

मानव बेचबिखन प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद अवरुद्ध, निष्पक्ष छानबिनको माग

मानव बेचबिखन प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद अवरुद्ध, निष्पक्ष छानबिनको माग

काठमाडाैं, १३ जेष्ठ । आजको प्रतिनिधि सभा बैठक विपक्षी दलको अवरोधका कारण अवरुद्ध बन्यो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसाको नाममा भइरहेको मानव बेचबिखन प्रकरणमा गृह मन्त्रालय संलग्न भएको आरोप लगाउँदै सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरे।

सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने घोषणा गरेलगत्तै विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिए, जसपछि सभामुखले माओवादी केन्द्रका नेता वर्षमान पुनलाई समय दिएर बोल्न अनुमति दिए।

पुनले संसदमा बोल्दै भिजिट भिसाका नाममा भइरहेको ठूलो मात्रामा मानव बेचबिखन अहिले देशव्यापी चिन्ताको विषय भएको र यसको निष्पक्ष छानबिन गृहमन्त्री पदमा बसिरहँदा सम्भव नरहेको बताए। उनले मन्त्री लेखकको राजीनामा नआएसम्म संसदको काम अगाडि नबढ्ने चेतावनीसमेत दिए।

यस मागमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले पनि समर्थन जनाए। खनालले संसदमा बोलेर यो प्रकरणमा संगठित अपराध र अवैध धन शुद्धीकरण (मनि लन्ड्रिङ) को गम्भीर आरोपहरू उठिरहेको बताएका थिए। उनले मन्त्रीको राजीनामासँगै उच्चस्तरीय छानबिन आयोग गठन गरी प्रकरणको गहिरो र स्वतन्त्र रूपमा छानबिन गर्न आग्रह गरे।

खनालका अनुसार यो काण्डमा भिजिट भिसाको दुरुपयोग गर्दै अवैध आप्रवासन मिलाउन र गृह मन्त्रालय तथा सचिवालयसम्म पुगेको भनिएको भ्रष्टाचारको जालो छ। त्यसैले निष्पक्ष न्यायका लागि स्वतन्त्र र बृहत् छानबिन आवश्यक रहेको उनको तर्क थियो।

संसदको अर्को बैठकमा सत्तापक्ष र विपक्षी दलबीच सहमति नजुटे संसद अवरुद्ध रहने संकेत देखिएको छ। प्रकरणको छानबिन र गृहमन्त्रीको भूमिकाबारे थप छलफल अब संसदीय प्राथमिकतामा आएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *