१८ बीमा कम्पनीको लाभांश उत्सव : सेयरधनीका खातामा नगद र बोनस दुवै, कुनले कति दिने ?

काठमाडाैं, १३ जेष्ठ । बीमा क्षेत्रका देशभरका १८ वटा कम्पनीहरूले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। यीमध्ये जीवन बीमा र निर्जीवन बीमा दुबैतर्फ ९–९ वटा कम्पनीले लाभांश सार्वजनिक गरेका छन्, बाँकी कम्पनीहरूको घोषणा आउन अझै बाँकी छ।
निर्जीवन बीमा कम्पनीहरू:
निर्जीवन बीमा कम्पनीतर्फ सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, सानिमा जिआइसी, नेपाल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल र हिमालयन एभरेष्टले लाभांश घोषणा गरिसकेका छन्।
सिद्धार्थ प्रिमियरले सबैभन्दा आकर्षक प्रस्ताव गर्दै ३० प्रतिशत नगद लाभांश दिने भएको छ। शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद (कुल १०.५३ प्रतिशत) लाभांश दिने निर्णय गरेको छ। सानिमा जिआइसीले ७.५ प्रतिशत बोनस र ०.३९ प्रतिशत नगद (कुल ७.८९ प्रतिशत) लाभांश दिने घोषणा गरेको छ।
नेपाल इन्स्योरेन्सले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय लिएको छ भने आइजीआई प्रुडेन्सियलले ९.७४ प्रतिशत नगद लाभांश मात्र दिनेछ। एभरेष्ट इन्स्योरेन्सले पनि यस वर्ष ८.७५ प्रतिशत नगद लाभांश मात्र दिने घोषणा गरेको छ।
नेको इन्स्योरेन्सले ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने भएको छ। एनएलजी इन्स्योरेन्सले भने २.५ प्रतिशत बोनस र त्यसको कर प्रयोजनका लागि ०.३१५७९ प्रतिशत नगद (कुल २.६३१५७९ प्रतिशत) लाभांश वितरण गर्नेछ। सगरमाथा लुम्बिनीले १५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरिसकेको छ, जुन बैशाख २८ गते सम्पन्न साधारण सभाबाट अनुमोदित भइसकेको छ।
जीवन बीमा कम्पनीहरू:
जीवन बीमा कम्पनीतर्फ नेशनल लाइफ, सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ, नेपाल लाइफ, आइएमई लाइफ, हिमालयन लाइफ, रिलायवल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ र सिटिजन लाइफले लाभांश घोषणा गरिसकेका छन्।
सानिमा रिलायन्सले १.२४ प्रतिशत बोनस र ८ प्रतिशत नगद (कुल ९.२४ प्रतिशत) लाभांश दिने घोषणा गरेको छ। सूर्यज्योति लाइफले २० प्रतिशत नगद लाभांश दिनेछ। नेपाल लाइफले १० प्रतिशत बोनस र ११.१ प्रतिशत नगद लाभांश दिने निर्णय लिएको छ।
आइएमई लाइफले २१.१ प्रतिशत नगद लाभांश मात्रै दिने भएको छ भने हिमालयन लाइफले १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। सिटिजन लाइफले सबैभन्दा उच्च दरमा २६.९८ प्रतिशत बोनस र १.४२ प्रतिशत नगद (कुल २८.४ प्रतिशत) लाभांश दिने भएको छ।
नेशनल लाइफले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद (कुल १५ प्रतिशत) लाभांश दिनेछ। रिलायवल नेपाल लाइफले १२ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। प्रभु महालक्ष्मी लाइफले पनि ८ प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ।